डोटीको पूर्वीचौकीका ‘छाउ नबार्ने’ १४ जना महिला सम्मानित

1,932

असार २४, डोटी ।

सामाजिक कुरितीका रुपमा रहेको छाउपडी प्रथा अर्थात महिनावारी नबार्ने डोटीका १४ जना महिलाहरु विहीबार सम्मानित भएका छन् ।
पूर्वीचौकी गाउँपालिका डोटीले गाउँपालिकाभित्रका ७ वटै वडाबाट २÷२ का दरले १४ जना छाउ नबार्ने महिलाहरुलाई सम्मान गरेको हो ।
रुढीवादी परम्परा, सामाजिक कुरिती एवं गलत अभ्यासका रुपमा स्थापित छाउपडी प्रथालाई तोड्नका निम्ति आम समुदायलाई प्रेरित गर्न छाउ नबार्ने महिलालाई सम्मान गरिएको पूर्वीचौकी गाउँपालिका डोटीका अध्यक्ष दीर्घराज बोगटीले नजर अनलाईनलाई बताए ।
गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार कार्यविधि बनाएर ति महिलालाई सम्मान गरिएको उनले बताए । उनले भने–‘सामाजिक कलङ्कका रुपमा रहेको छाउपडी प्रथाका कारण महिला दिदिबहिनीहरुको शारीरिक, मानसिक, सामाजिक लगाएतका सबै पक्षमा नकारात्मक असर पर्ने हुँदा यस्ता गलत अभ्यास चिरेर समाजमा उदाहरणीय बन्दा राज्यले सम्मान गर्ने रैछ भन्ने सन्देश दिन छाउ नबार्ने महिलाहरुलाई सम्मान गरेका हौं ।’

No description available.
गाउँपालिकाको महिला तथा बालबालिका शाखा अन्तरगत उनिहरुलाई नगद रु. ५ हजार, प्रमाण पत्र र दोसल्लाले सम्मान गरेको पूर्वीचौकी गाउँपालिकाका सूचना अधिकारी हरिभक्त साउँदले जानकारी दिए ।
गत वर्ष नै यो कार्यक्रम अगाडी बढाउने तयारी गरिएकोमा कोभिड–१९ का कारण गत वर्ष शुरु गर्न नसकेको र यस वर्षबाट मात्रै यसरी सम्मान कार्यक्रम अगाडी बढाईएको जनाईएको छ ।

No description available.
आफुले १२ वर्ष अगाडीदेखि छाउ बार्न छोडेको बताउँदै आफुलाई छाउ नबार्ने महिलाका रुपमा पूर्वीचौकी गाउँपालिकाले सम्मान गरेकोमा खुशी व्यक्त गरेको सो गाउँपालिकाको वडा नं. ५ काँडामाण्डौका कृष्णा भट्ट जोशीलाई उद्धृत गर्दै गाउँपालिकाका सूचना अधिकारी साउँदले जानकारी दिए ।
त्यस्तै अर्का सम्मानित हुने पूर्वीचौकी गाउँपालिका वडा नं. २ बगलेकका सुनिता ठकुल्लाले छाउ बार्ने महिलाहरुले अब आफ्नो समुदायमा छाउ बार्नु हुँदैन भनी जनचेतनामूलक कार्यक्रमबाट सचेतना फैलाउने प्रतिबद्धता जनाएको पनि सूचना अधिकारी साउँदले बताए ।

No description available.
यसैबिच सोही सम्मान कार्यक्रमबाट पूर्वीचौकी गाउँपालिकाले ८० वर्षभन्दा माथिका गाउँपालिकाका विभिन्न ठाउँका १४ जना जेष्ठ नागरिकहरुलाई पनि नगद तथा प्रमाण–पत्र सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

No description available.

Leave A Reply

Your email address will not be published.