डोटीमा नगर बस र स्कुटी ठोक्किएर दुई जना घाइते
असार २५, डोटी ।
डोटीमा विपरीत दिशामा सवार नगर बस र स्कुटी ठोक्किदा दुई जना घाइते भएका छन् ।
दिपायल सिलगढी नगरपालिका वडा नं. ५ चिसापानीमा दिपायलतर्फ जादै गरेको दिपायल सिलगढी नगरपालिकाको से १ ख १७६३ नं को नगर बस र सिलगढी तर्फ आउँदै गरेको म २ प ५६४५ नं को स्कुटी एकआपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा परी स्कुटी चालक दिपायल सिलगढी नगरपालिका ४ बस्ने वर्ष २९ का दिपक राज पन्त र वडा नं. ५ बस्ने वर्ष ३४ को पूर्ण मलासी घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका सह-प्रवक्ता रविन्द्र चन्दले जानकारी दिए ।
घाइते दुवैको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भैरहेको छ । स्कुटी चालकको दाहीने घुँडा र काँधमा चोट लागेको र स्कुटीमै पछाडी सवार मलासीको दाहीने खुट्टाको घुँडा मुनी चोट लागेको प्रहरीले जनाएको छ ।
नगर बस चालक शिखर नगरपालिका ६ डोटी बस्ने केशव मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।