प्रदेश कानुन मन्त्री जोशीको डोटीमा भव्य स्वागत

1,578

प्रेम नेपाली
श्रावण ११, डोटी ।
सुदुरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीको डोटीमा भव्य स्वागत गरिएको छ । मन्त्री बनेपछी पहिलो पटक गृह जिल्ला पुगेका मन्त्री जोशीलाई नेकपा एमाले डोटीले पार्टी कार्यालय सिलगढीमा स्वागत गरेको हो ।
मन्त्री जोशीको स्वागत गर्दै नेकपा एमाले डोटीका अध्यक्ष चक्र मल्लले हाम्रो मुलघर नेकपा एमाले नै भएकोले पार्टीलाई एकतावद्ध बनाउन सबैको चासो, चिन्ता र सहयोग आवश्यक रहेकोमा जोड दिए । साथै एमालेबाट मन्त्री बनेका जोशीलाई जनताप्रति उत्तरदायी भएर काम गर्नतर्फ ध्यान केन्द्रित गर्न आग्रह सहित बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे ।
आफ्नो स्वागत कार्यक्रममा बोल्दै मन्त्री जोशीले आफुले विशेषत: कानुन मन्त्रालय सम्हालेका कारण पनि हाल प्रदेशले निर्माण गरेको कानुनको पूर्ण कार्यान्वयन गर्ने र थप आवश्यक पर्ने कानुन निर्माण गर्ने आफ्नो योजना रहेको बताइन ।
पत्रकारहरुले सोधेको अर्को प्रश्नमा मन्त्री जोशीले प्रदेशमा भएको भनिएको भ्रष्टाचार र कमिशनको कुरालाई आफुले गम्भीर रुपले लिएको र प्रमाण सहित भेटाए जोसुकैलाई पनि कानुनी दायरामा ल्याएर कार्वाही गर्ने बताइन ।
त्यस्तै वर्तमान राजनीतिक परिस्थितिका कारण सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल तत्काललाई फेरबदल हुने कुनै सम्भावना नरहेको पनि उनलेे जानकारी दिइन।
अर्को फरक प्रसङ्गमा बोल्दै मन्त्री जोशीले खुटिया दिपायल फास्ट ट्रयाक संघ सरकारको मातहतमा भए पनि प्रदेशको पहिलो प्राथमिकतामा राखेको, कोरोना भाईरसको न्यूनीकरण तथा त्यसको जोखिमबाट बच्न प्रदेश सरकारले पुर्व तयारी गरि आवश्यक बजेटको व्यवस्था मिलाएको, संघीय सरकारसङ्ग आकस्मिक बिरामीको लागि हेलिप्याडको र पहाड तथा तराईको जुनसुकै ठाउँमा पनि आकस्मिक बाटोघाटो अबरुद्ध भएको खण्डमा भनेर कम्तिमा २० वटा ह्याभी इक्युपमेन्ट उपलब्ध गराइदिन पहल गरेको जानकारी दिइन ।
त्यसैगरी डोटी जिल्ला कारागारमा रहेका कैदिबन्दिहरुलाई सिपमुलक तालिम र कारागारमा जिर्ण रहेको भवनहरुको मर्मत गर्ने प्रदेश सरकारको योजना समेत रहेको मन्त्री जोशीले बताइन ।

Leave A Reply

Your email address will not be published.