डडेल्धुराको अमगढी नगरपालिकाद्वारा मुक्त हलियालाई घर हस्तान्तरण
भाद्र २२, डोटी ।
डडेल्धुराको अमरगढी नगरपालिकाले मुक्त हलिया समुदायका परिवारहरुलाई घर हस्तान्तरण गरेको छ ।
१३ औँ मुक्त हलिया दिवसको अवसरमा मुक्त हलियाका लागि निर्माण गरिएका घरहरु नगरपालिकाले हस्तान्तरण गरेको अमरगढी नगरपालिकाका नगर प्रमुख विश्वेश्वर प्रसाद ओझाले बताए ।
अमरगढी नगरपालिका वडा नं.२ जोशिनाकी दुर्गादेवी सार्कीलाई अमरगढी नगर प्रमुख ओझाले घरको चाँबी हस्तान्तरण गरेका हुन् ।३ लाख २५ हजारमा अमरगढी नगरपालिकाबाट हलिया पुर्नस्थापना अन्तरगत घर निर्माणका लागि पाएको र बाँकी श्रमदान गरी आठ कोठे घर निर्माण गरिएको मुक्त हलिया दुर्गादेवी सार्कीले बताइन् । उनले भनिन् – ‘अमरगढी नगरपालिकाले घर निर्माण गरिदिएपछि २ छोरा १ छोरी र श्रीमान श्रीमति गरि ५ जनाको परिवारले घरभित्र बस्न पाएका छौं।
अमरगढी नगरपालिकाले २६ जना मुक्त हलियाका लागि करिब ७५ लाख रुपिँया लगानी गरि घर निर्माण, घर मर्मत तथा जमिन खरिद कार्य गरि मुक्त हलियाहरुको पुर्नस्थापनालाई अगाडी बढाएको नगर प्रमुख ओझाले जानकारी दिए ।
अमरगढी नगरपालिकाले २६ हलिया परिवार मध्ये १७ जनाको घर मर्मत, ६ जनाको जमिन खरिद र २ जनाको घर निर्माण गरि मुक्त हलियाहरुलाई हस्तान्तरण गरेको छ । गन्यापधुरा गाउँपालिका वडा नं. १ असिग्राम तिखात्तर ठडुगरा बस्ने भीम ब. सार्कीले १४ पुस्तादेखि हालसम्म भूमिहीन रहेको र अहिले पनि मालिककै जमिनमा बसोबास गर्दै आएको बताए । उनले भने – ‘शेर बहादुर देउवा जति पटक प्रधानमन्त्री भए पनि हाम्रो समस्या समाधान भएन आजका दिनसम्म पनि प्रधानमन्त्री देउवाकै घरपरिवार दाईभाईको हलिया बसेर गुजरा चलाईरहेको छौ ।
गन्यापधुरा गाउँपालिका वडा नं.१ का १ सय ५० बढी हलियाहरुले अझै पनि हलिया परिचयपत्र समेत नपाउँदा उनीहरुले पुर्नस्थापनाको कार्यक्रमबाट वञ्चित भएका छन् ।