डोटीको प्रसिद्ध धार्मिक क्षेत्र घण्टेश्वर मेला भदौ ३० गते राति लाग्ने
भागरथी मडै
भाद्र २५, डोटी ।
डोटी र डडेल्धुरा जिल्लाको सिमा क्षेत्र नजिकै अवस्थित पूर्व पश्चिम जोड्ने महाभारत (तेले) लेगमा पर्ने घण्टेश्वर देवताको मेला यहि भदौ ३० गते रातीदेखि ३१ गते बिहानसम्म लाग्दैछ ।
हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाग्ने उक्त मेलामा राजा रजौटाकै पालादेखि मालपोत कार्यालयमार्फत पूजा खर्च पठाइदै आएकोमा त्यसै व्यवस्था अनुसार नेपाल सरकारले पनि रकम पठाउँदै आएको छ ।
यता मेला व्यवस्थापन समितिबाट पनी नेपाल सरकारलाई घण्टेश्वर देवताको प्रसादका रुपमा तिलख पठाउने परम्परा रहेको छ ।
घण्टेश्वर देवताको विधानमा उल्लेख भए अनुसार भारतको बद्री केदार भएर कैलाश प्रवेश गर्ने बेलामा स्थानीय पासा देवताले रोकेर त्यो ठाउँमा बास बसेको जानकार बुढापाकाहरुको भनाई छ ।
डोटीको जोरायल क्षेत्रमा निकै महत्वपूर्ण मानिने सो मेलामा श्रद्धालु भक्तजनहरुको जिल्ला भित्र र बाहिरबाट निकै ठूलो भिड लाग्ने गर्दछ ।
पवित्र मनले उपवास बसि घण्टेश्वर बाबाको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । मेला भर्नका लागि डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर लगाएत विभिन्न टाढा–टाढाका क्षेत्रबाट हजारौंको संख्यामा मेला भर्ने श्रद्धालु भक्तजनहरुको भिड लाग्ने गर्दछ ।
सो मेलामा जोरायल गाउँपालिका वडा नं. ४ लक्ष्मीनगरको बिनोडा गाउँबाट करिब ५ घण्टाको पैदल यात्रा गरि घण्टेश्वर देवताको देउरो मन्दीरसम्म पुर्याउने गरिन्छ भने लक्ष्मीनगरकै सैगडा, जोरायल गाउँपालिका १ सुन्लेक, डडेल्धुराको आलिताल गाउँपालिकाको गांखेतको उणी, गन्यापधुरा गाउँपालिकाको जर्माना गाउँबाट पनि देउरो ल्याउने गरिन्छ ।
उक्त मेलामा रातभर महिला तथा पुरुषहरूले सुदूरपश्चिमेली मौलिक सँस्कृती ‘देउडा’ पनि खेल्ने गरिन्छ ।
धनगढी–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गबाट करिब एक घण्टाको पैदल दुरीमा रहेको घनघोर जङ्गलको बिचमा अवस्थित उक्त मन्दिरसम्म पुग्न पछिल्लो समयमा कच्ची सडक समेत पुगिसकेको छ ।
यद्यपि विद्युत र खानेपानी लगाएतका पूर्वाधारको व्यवस्था हुन सकेको छैन ।
घण्टेश्वर देवताको मेला भव्य र सभ्य रूपमा सम्पन्न गर्न शान्ति सुरक्षा लगाएत अन्य तयारी तिव्र पारिएको घण्टेश्वर देवता धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष भीम बहादुर मडैले बताए ।
पवित्र धार्मिक मेलामा मदिराजन्य कारोबार पूर्ण प्रतिबन्ध लगाइएको पनि उनले बताए ।
सो क्षेत्रमा पूर्वाधार विकासका लागि स्थानीय बासिन्दा एवं फ्रन्टलाइन इन्जिनियरिङ्ग सोलुशन प्रा.लि. काठमाण्डौका प्रवन्ध निर्देश इन्जिनियर तेज बहादुर पालीले निशुल्क रूपमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेका छन् ।
यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले यस आर्थिक वर्षमा कार्यान्वयन हुने गरि रु १० लाख बजेट विनियोजन गरेको छ ।
पुर्वाधारका हिसाबले थुप्रै विकास निर्माणका काम बाँकी रहेकोले आवश्यक सहयोग गरिदिन घण्टेश्वर देवता धार्मिक तथा पर्यटन विकास समितिले सम्बन्धित सबैलाई विशेष आग्रह पनि गरेको छ ।
यसका साथै सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई घण्टेश्वर बाबाको मेला पवित्र मनले पाल्नुहुन समितिले अनुरोध पनि गरेको छ ।