प्रसिद्ध धार्मिक शक्तिपीठ डोटीको शैलेश्वरीमा भव्य मेला लाग्दै

292

मंसिर ३, डोटी ।
नेपालकै प्रसिद्ध धार्मिक, ऐतिहासिक एवं पर्यटकीय आकर्षण रहेको डोटीको सिलगढीमा अवस्थित शक्तिपीठ शैलेश्वरीमा आज भव्य मेला (जाँत) लागिरहेको छ ।
हरेक कात्तिक शुक्लपूर्णिमाका दिन यहाँ मेला लाग्दछ । जसलाई स्थानीय भाषामा ‘सिलदेवी जाँत’ पनि भन्ने गरिन्छ । मेलाको लागि धामी गाउँ र सिलगाउँबाट देउरो ल्याउने गरिन्छ ।
स्कन्द पुराणको मानस खण्डमा उल्लेख भए अनुसार शिवले विवाहपछि पार्वतीसँग घुम्दै आउने क्रममा यस क्षेत्रको रमणीय दृष्यबाट लोभिएर यसै क्षेत्रमा सयल गर्दै वर्षौं बिताएको उल्लेख छ ।
उता स्वर्गमा तारकासुर नामको दैत्यले देवगणहरुलाई आतंकित तुल्याउँदा ब्रह्माजीलाई अघि लगाउँदै देवगणहरु भगवान शिवको खोजीमा यस क्षेत्रमा पुग्दा भगवान शिव र माता पार्वती कामवासनामा तल्लिन रहेको देखेपछि माता पार्वती लज्जाले शिला पिण्डमा लुकेको बताईन्छ । फलतः शिव र पार्वती एकानुभुति भै विलिन भएपछि अर्धनारीश्वरी शैलेश्वरी भन्ने नाम रहन गएको र ब्रह्माजी सहितको देवगणहरुले नाना स्तुति गर्दा अर्धनारीश्वरी शैलेश्वरीले दर्शन दिएको स्कन्द पुराणको मानस खण्डअन्तर्गत शैलेश्वरी महात्मयमा वर्णित छ ।
यसरी शिव र पार्वतीले लामो समयसम्म सयल गरेको ठाउँ भएका कारण यसलाई सयलगढी भनियो र पछि उक्त शब्द सिलगढीमा परिणत भएको मानिन्छ । यसै पुण्यभूमिमा १२ वर्षको बनवासपछि अयोध्याबाट फर्की भगवान रामले अश्वमेध यज्ञ सकेपछि आफ्नो गुरु वशिष्टको आज्ञाले चन्दनगिरी पर्वत हालको सिलगढी नगरीमा आई शैलेश्वरीको पूजा आराधाना गरेपछि माताले दर्शन दिएको पनि स्कन्द पुराणको मानस खण्डमा उल्लेख छ ।
यहाँ प्रत्येक १२ वर्षमा एक पटक लख्यहोम र १४४ वर्षमा एक पटक कोटीहोम महायज्ञ लाग्ने गर्दछ ।

दत्तचित्त भई माता शैलेश्वरीको पुजाआराधना, ध्यान र दर्शन गरेपछि मनोकामना पूरा हुने जनआस्था रहिआएको छ ।

शैलेश्वरी मेलामा स्थानीय पञ्चेबाजा सहित मौलिक सँस्कृतिहरु देख्न पाईन्छ । मेलाको अवसरमा अघिल्लो दिन विहिबार राती जिल्ला बाहिर र जिल्ला भित्रका कलाकारहरुको सहभागितामा सिलगढीको सिलगाउँमा भव्य डेउडा खेल खेलाइएको छ ।
शैलेश्वरीको नित्य पूजाका लागि स्थानीय सिलगाउँका भट्ट परिवारलाई पूजारीको जिम्मेवारी दिईएको छ भने अन्य विभिन्न कामको बाँडफाँड गरी बाह्र गाउँका बाह्र बराला (बाह्र वटा गाउँलाई दिईएको जिम्मेवारी) तोकिएको छ ।  सुदूरपश्चिमका अधिकांश जिल्लाका साथै नेपालका अन्य क्षेत्रहरु र भारतबाट समेत हजारौंको संख्यामा दर्शनार्थिहरुको यहाँ भीड लाग्दछ ।
मेला बाहेकको समयमा पनि शैलेश्वरीको दर्शन गर्न राष्ट्रपति, प्रधानमन्त्री लगाएतका देशका उच्च ओहदाका विभिन्न व्यक्तित्वहरु यहाँ आउने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.