सुदूरपश्चिम प्रदेशमा आज ‘पुसे पन्ध्र’ पर्व मनाइदै

234

पुस १५, डोटी ।
आज पुस १५ गते । सुदूरपश्चिम प्रदेशमा आजको रात ‘पुसे पन्ध्र’ अर्थात ‘ठूलीरात’ अर्थात ‘पन्नरकी रात’ पर्व धूमधामका साथ मनाइदैछ ।
आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरातका रूपमा विभिन्न प्रकारका खानेकुरा खादै रातभरी जाग्राम बसेर कथा, बातहरू श्रवण गरी बिहान उज्यालो नहुँदै नुहाई धुवाई गर्ने चलन रही आएको छ ।
राती जाग्राम बस्दा पुरै रातभर आगो बालेर रात कटाउन २२ हात लामो मुढा बाल्ने प्रचलन छ । यद्यपि अचेल सामान्य तवरले आगो बाल्ने गरिएको बुढापाकाहरु बताउँछन् ।
यस पुसे पन्ध्र पर्वको बारेमा त्यस्तो धार्मिक रूपमा कहिँ कतै लिखित रूपमा उल्लेखित नभए पनि परापुर्वकाल देखि परम्परागत रूपमा आजको रातमा आफन्त, साथीभाइसँग भेटघाट गर्ने, गाउँलेहरू एकै ठाउँमा जम्मा हुने, आगो ताप्ने, रातभरी कथा, कहानी (स्थानीय बातै) सुन्ने र सुनाउने तथा तरुल, सखरखण्ड, भ्याकुर, कन्दमूल सङ्गै मिठा-मिठा खानेकुरा पकाएर खाने गरिन्छ ।
पुस १५ को आसपास अत्यधिक चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीर समेत फुर्तिलो राख्न चिल्लो पदार्थ हालेका तातो खानेकुरा, कन्दमूलहरू खाने गरिएको बढापाकाहरु बताउँछन् ।
डिसेम्बर २२ तारिखलाई नै सबैभन्दा छोटो दिन भनिए पनि नेपाली समाजमा भने पुस १५ लाई छोटो दिन मान्ने चलन रही आएको छ ।
आजको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने दिन बढ्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको पाइन्छ ।

Leave A Reply

Your email address will not be published.