महिला समूहहरुलाई सहकारीका रुपमा विकास गर्नुपर्नेमा जोड
माघ २७, डोटी ।
विभिन्न ठाउँमा गठन गरिने महिला समूहहरुलाई संगठित गरी सहकारीका रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
महिला शक्ति विकास केन्द्र नेपाल काठमाण्डौले विहीबार डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ७ मा आयोजना गरेको सामाजिक लेखा परीक्षण कार्यक्रममा सरोकारवालाहरुले उक्त कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका अन्तरगत महिला तथा बालबालिका शाखा प्रमूख सानुमाया लिम्बुले गाउँमा विभिन्न खालका महिला समूहहरु गठन गर्ने गरिएको तिनिहरुको दीगोपनाका लागि संगठित गर्दै सहकारीका रुपमा विकास गर्नुपर्नेमा जोड दिइन् ।
महिला शक्ति विकास केन्द्र नेपालले पनि उक्त वडामा विभिन्न टोलका महिलाहरुको १६ वटा समूह गरेको विषयलाई लक्ष्यित गर्दै लिम्बुले महिला समूहहरुलाई सहकारीका रुपमा अगाडी बढाउन आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । हालसम्म दिपायल सिलगढी नगरपालिकाभित्र कुनै पनि महिला सहकारी सँस्थाले उत्कृष्ट महिला सहकारी सँस्थाको पहिचान बनाउन नसकेको उनले बताईन् ।
त्यस्तै महिला समूहहरुलाई सहकारीका रुपमा विकास गरी अगाडी बढाउने विषयमा आफुहरु पनि सकारात्मक रहेको महिला शक्ति विकास केन्द्र नेपालका क्षेत्रीय संयोजक तारा खाँतीले बताईन् ।
महिला शक्ति विकास केन्द्रले गाउँमा गठन गरेका महिला समूहहरुलाई वडा कार्यालयको तर्फबाट बेला बेलामा सहयोग गर्दै आएको र फेरी पनि कसरी अगाडी बढाउन सकिन्छ भन्नेमा आफु तयार रहेको दिपायल सिलगढी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष कर्ण बहादुर बिष्टले बताए ।
जसका निमित्त एक हप्ताभित्र आफुहरुलाई समूहको बैठकमा बोलाउने गरी कार्यक्रम तय गर्न पनि उनले महिलाहरुलाई अनुरोध गरेका छन् ।

कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले सरकारले सबै काम गर्न नसकिरहेको अवस्थामा गैह्र सरकारी सँस्थाहरुबाट भैरहेको सहयोग सह्रानीय भएको र महिला शक्ति विकास केन्द्र नेपालले थोरै बजेटमा धेरै काम गर्ने प्रयास गरेको पाईएको बताए । उक्त सँस्थाले विशेषतः नेतृत्व विकासका लागि काम गर्दै आएकोमा तत्काल देखिने उपलब्धी नभए पनि विस्तारै समाजमा सकारात्मक प्रभाव पर्नेमा आफु विश्वस्त रहेको उनले बताए ।
महिला शक्ति विकास केन्द्रले डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. १ र ७ मा करिब तीन वर्षदेखि महिलाका क्षेत्रमा काम गर्दै आएको छ ।
हिजो बुधबार मात्रै दिपायल सिलगढी नगरपालिकाको वडा नं. १ मा सामाजिक लेखा परीक्षण गरेको सो सँस्थाले विहीबार वडा नं. ७ मा सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा सहभागिहरुले सँस्थाले गरेका राम्रा कामहरुको प्रशंसा गर्दै आ–आफ्ना सुझावहरु पनि औंल्याएका थिए ।
विभिन्न जनप्रतिनिधी, विभिन्न विषयगत शाखाका सरकारी कर्मचारीहरु, प्रहरी, पत्रकार र गाउँ महिला समूहका महिलाहरु लगाएत सरोकारवाला सहभागि रहेको सामाजिक लेखा परीक्षण कार्यक्रममा पत्रकार तथा सामाजिक परीक्षक झलक पालीले सहजिकरण गरेका थिए ।
कार्यक्रमबाट प्राप्त सुझाव, सल्लाह र मार्गदर्शनका रुपमा सँस्थालाई अगाडी बढाईने महिला शक्ति विकास केन्द्र नेपालका क्षेत्रीय संयोजक खाँतीले प्रतिबद्धता जनाईन् ।