निर्वाचन लक्ष्यित कार्यक्रममा होमियो डोटी एमाले
फाल्गुन ६, डोटी ।
सरकारले आगामी २०७९ बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति तोकेसँगै निर्वाचनलाई लक्ष्यित गरेर नेकपा (एमाले) डोटीले विभिन्न पालिकाहरुमा तिव्र गतीमा पार्टीका कार्यक्रम सञ्चालन गर्न थालेको छ ।
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसि), प्रधानन्यायाधिशमाथिको अभियोग, जनप्रतिनिधीको कार्यकालबारे सर्वाेच्चमा परेको रिट लगाएतका कारण तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनेमा शंकामा रहेको भए पनि एमालेले आफ्ना गतिविधी अगाडी सारेको छ ।
यहि फाल्गुन २ गते नेकपा एमाले दिपायल सिलगढी नगरपालिका कमिटिको आयोजनामा विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेला आयोजना गरिएको थियो । त्यस्तै हिजो फाल्गुन ५ गते विहीबार मात्रै एमाले पुर्विचौकी गाउँपालिका कमिटिको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको थियो भने आज शुक्रबार आदर्श गाउँपालिका कमिटिको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
यसैबिच यहि फाल्गुन ८ गते सायल गाउँपालिका कमिटीले विस्तारित बैठक र अगुवा कार्यकर्ता भेला आयोजना गर्ने भएको छ भने फाल्गुन ९ गते एमाले जोरायल गाउँपालिका कमिटी र फाल्गुन ११ गते शिखर नगरपालिका कमिटीको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेला तय भएको छ ।
यसैगरी बाँकी सबै पालिकाहरुमा पनि कार्यक्रम सञ्चालन गरिने एमाले डोटीले जनाएको छ ।

दिपायल सिलगढी नगरपालिकामा एमालेले हिजो फाल्गुन ५ गते विहीबारदेखि वडागत कार्यक्रम सञ्चालन गरेको छ । त्यस्तै अन्य पालिकामा पनि योजना बनाएर वडा वडामा एमालेले कार्यक्रम आयोजना गर्ने जनाईएको छ ।
वि.सं. २०७४ सालमा पहिलो पटक सम्पन्न स्थानीय तहको निर्वाचनमा दिपायल सिलगढी नगरपालिका, जोरायल गाउँपालिका, सायल गाउँपालिका, आदर्श गाउँपालिका, पूर्वीचौकी गाउँपालिकामा प्रमूख र उप–प्रमूख तथा अध्यक्ष र उपाध्यक्ष सहित जित हात पारेको एमालेले बोगटान फुड्सिल गाउँपालिकामा उपाध्यक्ष पदमा जित हात पारेको थियो ।

यसपटक एमालेबाट विद्रोह गरी माधव कुमार नेपाल नेतृत्वमा नेकपा एकिकृत समाजवादी पार्टी गठन भएको र केहि नेता कार्यकर्ता उक्त पार्टिमा लागेकाले एमालेलाई आगामी निर्वाचनमा हिजोकै अवस्थामा शशक्त रुपमा उभ्याउन एमाले योजनाबद्ध तरिकाले अघि बढेको एमाले डोटीले जनाएको छ ।
केहि नेता कार्यकर्ताहरु एमालेबाट समाजवादी पार्टी लागेको बाहिरी हल्ला भए पनि उनिहरुले २०७४ को निर्वाचनमा पनि पार्टीको पक्षमा सहयोग नगरेकाले उनिहरुको बहिर्गमनले एमालेलाई कुनै असर नगर्ने एमाले डोटीका अध्यक्ष चक्र मल्लको दावी छ ।
पछिल्लो समयमा नेकपा एमाले संक्रमणकालिन अवस्थाबाट गुज्रिदै आएको भए पनि विभिन्न तहका अधिवेशनहरुपश्चात एमाले अहिले एकढिक्का भएर अघि बढेको एमाले पोलिट ब्युरो सदस्य एवं डोटी जिल्ला इञ्चार्ज गौरी ओलीले बताईन् । हिजो एमालेबाट विजय प्राप्त गरेका ठाउँमा थप शानदार मत सहित जित हात पार्न र हिजो पराजय भोगेका ठाउँमा पनि जित्ने अठोटका साथ लाग्न सम्पूर्ण पार्टीपङ्तीलाई उनले विशेष आग्रह गरिन् ।
हिजोको निर्वाचनलाई सिकाईका रुपमा लिंदै आगामी निर्वाचनमा स्थानीय स्तरमै सर्वसम्मत उम्मेदवार चयन गर्ने वातावरण सिर्जना गर्ने र पार्टीलाई बलियो ढङ्गले प्रस्तुत गरी विजय हासिल गर्ने दाउमा यतिखेर नेकपा एमाले सजग बनेको छ ।


एमालेले नेपाली काँग्रेसलाई प्रमूख प्रतिष्पर्धीका रुपमा चिनेको छ । तसर्थ निर्वाचनमा पार्टीलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा एमालेले आफ्नो यथार्थ स्थिती कस्तो छ भनी पत्ता लगाउन पनि यतिबेला कार्यक्रम आयोजना गरिरहेको छ ।
यसका साथै विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्न चाहनेलाई पार्टीमा स्वागत गर्ने अभियान पनि सञ्चालन भैरहेको छ ।