डोटीको गिरीचौकामा ५ करोड बढीको ‘सौर्य मिनिग्रीड आयोजना’ लागु हुँदै

1,484

चैत्र १८, डोटी ।
भौगोलिक रुपमा विकट क्षेत्र डोटीको आदर्श गाउँपालिका वडा नं. ६ गिरीचौकामा रु. ५ करोडभन्दा बढीको सौर्य मिनिग्रीड आयोजना लागु हुने भएको छ ।
उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय अन्तरगत वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र आदर्श गाउँपालिकाको साझेदारीमा रु. ५ करोड १ लाख ४१ हजार ८ सय ८८ रुपैंया ६४ पैंसाको लागतमा सौर्य मिनिग्रीड आयोजना लागु हुन लागेको हो ।
जसका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र आदर्श गाउँपालिकाबिच गत फाल्गुन २० गते सम्झौता भईसकेको आदर्श गाउँपालिकाले जनाएको छ । जस अनुसार ९० प्रतिशत रकम वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबाट रकम भुक्तानी हुनेछ भने १० प्रतिशत रकम आदर्श गाउँपालिकाले व्यहोर्नुपर्ने सम्झौतामा उल्लेख छ । आयोजना कार्यान्वयनका लागि आदर्श गाउँपालिकाले हाल ३० लाख रकम विनियोजन गरिसकेको जनाएको छ ।
उक्त गिरीचौका सौर्य मिनी ग्रीड ८० किलोवाट पिक क्षमताको रहने र त्यसबाट गिरीचौकाका ३ सय ११ घरधुरी प्रत्यक्ष लाभान्वित हुनुका साथै थप घरधुरीहरुमा समेत सौर्य बत्ती वितरण गर्न सकिने जनाईएको छ ।
उक्त कार्यका लागि यहि चैत्र ४ गते अर्थात मार्च १८ का दिन टेन्डर प्रक्रियाका लागि सूचना प्रकाशन भईसकेको आदर्श गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष लाल बहादुर खडायतले जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन विस्तार हुन नसकेको सो क्षेत्रमा सौर्य मिनी ग्रीड आयोजनाबाट घर–घरमा बत्ती बल्ने भएपछि गिरीचौकाका स्थानीय बासिन्दा निकै हर्षित भएका छन् । विकट बस्ती गिरीचौकामा उज्यालो पुर्याउन आयोजना क्षेत्र छनौट गरेकोमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रलाई स्थानीय जनता र आदर्श गाउँपालिकाको तर्फबाट वडा नं. ६ का वडा अध्यक्ष खडायतले विशेष धन्यवाद समेत दिएका छन् ।
उक्त सौर्य मिनी ग्रीड आयोजनाको कार्यान्वयन समयावधी २०७९ फाल्गुन मसान्तसम्म रहेको र आवश्यकताका आधारमा थप गर्न सकिने सम्झौतामा उल्लेख गरिएको छ ।

Leave A Reply

Your email address will not be published.