डोटीमा सत्तारुढ तीन दलबीच गठबन्धन हुने

1,663

चैत्र २२, डोटी ।
सत्तारुढ गठबन्धनमा रहेका ३ दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले डोटीमा पनि चुनावी गठबन्धन गर्ने भएका छन् ।
नेपाली कांग्रेसका डोटी सभापति नरेन्द्र बहादुर सिंहको संयोजकत्वमा बसेको तीन दलका नेताहरुको बैठकले आगामी बैशाख ३० तोकिएको स्थानीय तह निर्वाचनमा आपसी सहमतिका आधारमा गठबन्धन गर्ने निर्णय गरेका हुन् ।
बैठकमा नेकपा माओवादी केन्द्रका तर्फबाट सुदूरपश्चिम प्रदेश कमिटी सदस्य खगेन्द्र बहादुर साउँद, नेकपा एकीकृत समाजवादीका तर्फबाट डोटी अध्यक्ष दीर्घराज बोगटी, नारद मलासी र नेपाली काङ्ग्रेसका उप-सभापति बाजि सिं खड्का सहभागी रहेका थिए ।
जिल्लाका ९ वटै स्थानीय तहमा र वडाहरुमा गठबन्धनको आवश्यकता कस्तो छ भन्ने बारे यहि चैत्र २४ गतेभित्र सुझाव पठाउने तयारी भएको जनाइएको छ । प्राप्त सुझावका आधारमा अगाडि बढाउने गठबन्धनको तयारी छ । केन्द्रमा सत्तारुढ गठबन्धनमा रहेका पाँच दलको निर्णय अनुसार जिल्लामा रहेका तीन दलले गठबन्धनलाई निरन्तरता दिएका हुन् ।
सुदूरपश्चिममा गठबन्धन नहुने निरन्तर बताउँदै आएका नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सभापति बिर बहादुर बलायरको गृह जिल्लामै गठबन्धनको सहमति भएको छ ।
यद्यपि पालिकाहरु र वडामा नेपाली काङ्ग्रेस र अन्य गठबन्धन दलहरुले उम्मेदवार छनौट प्रक्रिया अगाडि बढाइसकेको अवस्थामा सहमति जुट्न भने सकस पर्ने देखिन्छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा डोटीका ९ वटा पालिकाहरु मध्ये ५ वटा स्थानीय तहमा एमालेले नेतृत्व जितेको थियो भने ३ स्थानीय तहमा नेपाली काङ्ग्रेसले र १ स्थानीय तहमा माओवादी केन्द्रले जीत हात पारेको थियो ।
जिल्लाभर एमालेले बढी जीत हासिल गरेका कारण जिल्ला समन्वय समिति भने एमालेले एकलौटी जीत सुनिश्चित गरेको थियो ।
यस पटक सत्तारूढ दलबीच गठबन्धन गरेर जीत सुनिश्चित गर्ने दाउ छ भने एमाले एक्लैले अघिल्लो चुनावमा जितेका ठाउँमा जित कायम राख्दै अन्य ठाउँमा समेत जित्ने दाउमा छ ।

Leave A Reply

Your email address will not be published.