एमालेबाट जोरायलको अध्यक्षमा पुनः ओझा र उपाध्यक्षमा बोहराको उम्मेदवारी सर्वसम्मत

1,467

चैत्र २४, डोटी ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा (एमाले) ले डोटीको जोरायल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवारहरुको सर्वसम्मत टुङ्गो लगाएको छ ।
एमाले जोरायल गाउँपालिका कमिटिले विहीबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम लगत्तै अध्यक्षमा पुनः दुर्गादत्त ओझा र उपाध्यक्षमा पनि पुनः जमुना बोहराको उम्मेदवारी सर्वसम्मत टुङ्गो लगाएको हो ।
एमाले पोलिट ब्युरो सदस्य तथा डोटी इञ्चार्ज गौरी ओली, केन्द्रिय सल्लाहकार परिषद सदस्य तथा डोटीका सँस्थापक डिल्लीराज भट्ट, जिल्ला कमिटी अध्यक्ष चक्र मल्ल, सचिव शेर बहादुर मल्ल लगाएत नेता कार्यकर्ताहरुको सहभागितामा उम्मेदवारहरुको टुङ्गो लगाएको हो ।
जम्मा ९ वटा स्थानीय तह रहेको डोटीमा एमालेले जोरायल गाउँपालिकामा सबैभन्दा पहिले र सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको हो ।
उम्मेदवारी टुङ्गो लगाए लगत्तै नेता कार्यकर्तामाझ बोल्दै अध्यक्ष पदका उम्मेदवार दुर्गादत्त ओझाले वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि आफुहरुले विजय हासिल गरेको र यसबिचमा थुप्रै विकासका कामहरु गरेकाले पुनः पनि आफुहरुको जीत सुनिश्चित रहेको बताए ।
यसैगरी वडा नं. ३ को वडा अध्यक्षमा कलि सिं खत्री र वडा नं. ५ को वडा अध्यक्षमा चेत बहादुर बिष्टलाई यस अगावै सर्वसम्मत उम्मेदवार चयन गरेको एमाले जोरायल गाउँपालिका कमिटि अध्यक्ष तीर्थराज भण्डारीले बताए ।
वडा नं. ५ मा वडा सदस्यहरुको समेत सर्वसम्मत टुङ्गो लगाएको जनाइएको छ ।
अन्य वडाहरुमा पनि जतिसक्दो छिटो उम्मेदवारको टुङ्गो लाग्ने एमाले जोरायल गाउँपालिका कमिटि सचिव चित्र भट्टले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.