जोरायलमा एमालेको जित, अध्यक्षमा ओझा र उपाध्यक्षमा बोहरा पुनः विजयी
जेठ २, (जोरायल) डोटी ।
डोटीको जोरायल गाउँपालिकामा एमालेले फ़ेरि जीत दर्ता गरेको छ ।
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतदान लगत्तै शुक्रबार राती १ बजेदेखि शुरु भएको मतगणनाको सोमबार बिहान १:३० बजेको अन्तिम परिणाम अनुसार नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार दुर्गादत्त ओझा र उपाध्यक्ष पदका उम्मेदवार जमुना कुमारी बोहराले जित हात पारेका हुन् ।
एमाले उम्मेदवार ओझाले ३४४९ मत ल्याएर जित हासिल गर्दा
नेपाली काङ्ग्रेसका उम्मेदवार दिपक कुमार बिष्टले ३४१२ मत प्राप्त गरेका छन् । अध्यक्षमा ३७ मत अन्तर रहेको छ ।
त्यस्तै उपाध्यक्षमा एमाले उम्मेदवार बोहराले ३५९९ मत ल्याउदै गर्दा काङ्ग्रेस उम्मेदवार चन्द्रा कुमारी साउदले ३५१७ मात्रै मत प्राप्त गरिन । उपाध्यक्षमा ८२ मत अन्तर रहेको छ ।
जोरायल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी हुने ओझा र बोहरा दोश्रो कार्यकालको लागि निर्वाचित भएका हुन् ।
नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबिचको गठबन्धनका अध्यक्ष पदका उम्मेदवार किरण मल्ल र उपाध्यक्ष पदका उम्मेदवार प्रेमा कुमारी ओली भने तेस्रो भएका छन् ।
यसैगरी ६ वटा वडा रहेकोे जोरायलमा एमालेले वडा नम्बर १, २, ४ र ६ मा पनि वडा अध्यक्ष सहित जित हात पारेको छ ।
वडा नम्बर १ मा एमालेका जगत बहादुर मल्ल, २ मा वीर बहादुर दर्लामी, ४ मा नन्दराज भट्ट र ६ मा गणेश बहादुर बोहराले जित हात पारेका छन् ।
वडा नम्बर ३ मा भने नेपाली काङ्ग्रेसका उम्मेदवार नवीन ओझा र वडा नम्बर ५ मा ध्वज बहादुर देउवा वडा अध्यक्षमा निर्वाचित भएका छन् ।