डोटीको जोरायलमा नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ
जेठ ६, (जोरायल) डोटी ।
डोटीको जोरायल गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
जोरायल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दुर्गादत्त ओझाले गाउँपालिका उपाध्यक्ष, ६ वटै वडाका वडा अध्यक्षहरु र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
जोरायल गाउँपालिकाको सभाहलमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सपथ गराइएको हो ।
जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले भने हिजो विहीबार मुख्य निर्वाचन अधिकृतबाट डोटीका ९ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुलाई सपथ ग्रहण गराउने क्रममा सपथ लिईसकेका थिए ।
स्थानीय तह सदस्य निर्वाचन, जोरायलका निर्वाचन अधिकृत टिकाराम ढकालको अध्यक्षता एवं नवनिर्वाचित जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको प्रमुख आतिथ्यतामा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
बैशाख ३० गते शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतदान लगत्तै सोही राती १ बजेदेखि शुरु भएको मतगणनाको जेठ २ गते सोमबार बिहान १:३० बजे गणना सकिएको थियो ।
मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार दुर्गादत्त ओझा र उपाध्यक्ष पदका उम्मेदवार जमुना कुमारी बोहराले जित हात पारेका थिए ।
यसैगरी ६ वटा वडा रहेकोे जोरायल गाउँपालिकाको वडा नम्बर १ मा एमालेका जगत बहादुर मल्ल, २ मा वीर बहादुर दर्लामी, ४ मा नन्दराज भट्ट र ६ मा गणेश बहादुर बोहराले जित हात पारेका थिए ।
यता वडा नम्बर ३ मा नेपाली काङ्ग्रेसका उम्मेदवार नवीन ओझा र वडा नम्बर ५ मा ध्वज बहादुर देउवा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
सपथ ग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचित जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले संघ र प्रदेश सरकारसङ्गको समन्वयमा आम जोरायली जनताको भावना र चाहना अनुरुप विकासका काम गर्ने प्रतिवद्धता जनाए । त्यस्तै अध्यक्ष ओझाले निर्वाचनमा सहयोग गर्ने कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, पर्यवेक्षक लगाएत सम्पूर्ण सहयोग गर्ने व्यक्ति तथा निकाय र आम मतदातालाई विशेष धन्यवाद दिए ।
कार्यक्रममा बोल्दै अन्य जनप्रतिनिधिहरुले पनि जोरायलको विकासका लागि बिना आग्रह पुर्वाग्रह एकजुट भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रमको समापनमा बोल्दै स्थानीय तह सदस्य निर्वाचन, जोरायलका निर्वाचन अधिकृत टिकाराम ढकालले जोरायल गाउँपालिका नमूना गाउँपालिका बनेको देख्न पाउ भन्दै शुभकामना दिए ।
साथै यही जेठ १६ गते जोरायल गाउँपालिका गाउँ कार्यपालिकाको पुर्णताको लागि निर्वाचनको मिति समेत तोकेका छन् ।