सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु भएका १४ जना को कहाँका ?

207

भाद्र १०, डोटी ।
विश्वव्यापी महामारी नोवेल कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट सुदूरपश्चिममा १४ जनाको मृत्यु भएको छ।
मृतकहरुमा कैलालीका ६, अछामका ४, बझाङ र बाजुराका २/२ जना रहेका छन् । ति मध्ये तीन जनाले भने आत्महत्या गरेका हुन्। आत्महत्या गर्ने २ जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको हो भने १ जनाले कोरोना संक्रमण भएपछि आत्महत्या गरेका हुन्।
भाद्र १० गते बुधबार मात्रै सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना संक्रमित १ पुरुषको मृत्यु भएको छ। हिजो भाद्र ९ गते मंगलबार साँझ कोरोना पुष्टि भएका गोदावरी नगरपालिकाका ४५ बर्षीय पुरुषको मृत्यु भएको थियो ।
हिजो भाद्र ९ गते मात्रै साउन ३२ गते मृत्यु भएका कैलालीकै १पुरुषमा पनि कोरोना पुष्टि भएको थियो। काम गर्न कैलालीको मोहन्याल गाउँपालिका वडा नम्वर ३ मा पुगेका ४९ वर्षीय पुरुष साउन ३२ गते बेहोस भएका थिए। अचेत अवस्थामा रहेका उनलाई त्यहाँबाट उपचारका लागि तराई ल्याउँदै गर्दा मोहन्याल गाउँपालिकामै मृत्यु भएको थियो। भदौ १ गते दाहसंस्कार गर्नुअघि बर्दगोरिया गाउँपालिकाको स्वास्थ्य शाखाले स्वाब संकलन गरेकोमा मंगलबार कोरोना पुष्टि भएको हो।
सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसको संक्रमणबाट पहिलो मृत्यु भने जेठ १८ गते बाजुराकी दुई वर्षीया बालिकाको भएको थियो। उनको मृत्युपछि कोरोना पुष्टि भएको थियो। आमाबुवासँग भारतको नयाँदिल्लीबाट आएकी दुई बर्षीया बालिकामा ज्वरो आएपछि श्वासप्रश्वासमा सममस्या थियो। उनको मृत्युपछि उनकी आमामा समेत संक्रमण देखिएको थियो।

त्यसपछि जेठ २४ गते धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की ५५ वर्षीया महिलाको दोश्रो संक्रमित मृत्यु भएको थियो। उनमा पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो। मिर्गौलाकी बिरामी उनको सेती प्रादेशिक अस्पतालमा डायलासिस वार्डमा मृत्यु भएको थियो भने अन्तिम संस्कार गरेपछि मात्रै कोरोना रिपोर्ट आएको थियो।
त्यसपछि असार ३ मा कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर २ की ४३ वर्षीया महिलाको कोरोना भाईरसका कारण तेस्रो मृत्यु भयो। उनलाई न्यूरोसम्बन्धी समस्या देखिएपछि नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो। शल्यक्रिया गर्नुअघि उनको कोरोना परीक्षणका लागि स्वाब पठाइएकोमा मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो।
सोही दिन कैलालीको गोदावारी नगरपालिकाका बस व्यवसायी ४६ वर्षीय पुरुषको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार क्रममा मृत्यु भएको थियो। उनमा भने मृत्युअघि नै कोरोना पुष्टि भएको थियो।
त्यस्तै असार १३ गते कैलालीकै क्यान्सर पीडित समेत रहेका गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरूषको चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको थियो। मृतक फोक्साको क्यान्सरको उपचार गराइरहेका थिए भने उनमा मृत्युअघि नै कोरोना पुष्टि भएको थियो।
गत असार १६ गते कोरोना भाईरसको संक्रमणबाट अछाममा पहिलो मृत्यु भयो। चार दिन क्वारेन्टिनमा बसेर घर फर्किएको एक हप्तापछि अछामको रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो। उनको पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको हो। बयालपाटा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो। मृतक भारतबाट आएका थिए।
त्यसपछि साउन १३ गते कोरोनाले बझाङमा पहिलो मृत्यु भयो। बझाङ बुंगल गाउँपालिकाका ६५ वर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको थियो। उनको साउन ९ गते नै घरमा मृत्यु भएको थियो भने त्यसपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।
साउन २५ गते अछामको चौरपाटीका ५० वर्षीय पुरूषको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भयो। मृत्यु हुनुभन्दा पहिले नै उनको स्वाब संकलन गरे पनि मृत्युको दुई दिनपछि मात्रै उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।
साउन २९ गते अछामका थप एक जनाको कोरोना भाईरसका कारण मृत्यु भयो। रामारोशन गाउँपालिका ५ का १८ वर्षीय पुरुषको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो। उनी मुटुरोगबाट ग्रसित थिए।

 

कोरोना संक्रमणपछि आत्महत्या

सुदूरपश्चिममा कोरोना पुष्टि भएपछि एक युवकले आत्महत्या पनि गरेका थिए। बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्वर ७ मा रहेको लामागाडा प्राथमिक विद्यालयको क्यारेन्टानमा बस्दै आएका एक युवकले असार तेस्रो साता आत्महत्या गरेका हुन्।
खप्तड छान्ना गाउँपालिका ७ गडराय घर भएका १८ वर्षका युवकले आत्महत्या गरेका हुन।
जेठ १९ गते भारतबाट आएका उनी क्यारेन्टाइममा बस्दै आएका थिए। त्यहाँ रहेका २५ जना मध्य कोरोना चेकजाँच गर्दा ५ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि पिसीआर गर्दा उनको मात्र पोजेटिभ देखीएको थियो। उनले कोरोना पुष्टि भएर एक्लै बस्नुपर्दा आत्महत्या गरेका हुन्।

आत्महत्यापछि कोरोना पुष्टि

सुदूरपश्चिममा क्वारेन्टिनमै आत्महत्या गरेका थप एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो। बाजुराको बडिमालिका नगरपालिका –२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि भएको थियो।
मृत्युपछि आएको रिपोर्टमा उनमा कोरोना पुष्टि भएको थियो। त्यस्तै बडिमालिका नगरपालिका –२ माझिगाउँका ४५ वर्षीय पुरुषले पनि जेठ ३० गते शुक्रबार क्वारेन्टिनमा आत्महत्या गरेका थिए। उनी जेठ २८ गते भारतबाट आएर क्वारेन्टिनमा बसिरहेका थिए।
क्वारेन्टिनमा बसेकै बेला आत्महत्या गरेका थप अर्काे व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको थियो। अछाम घर भएका ४३ बर्षीय पुरुष भारतबाट साउन ९ गते बर्दियाको भुरिगाउँमा आफन्त कहाँ पुगेका थिए।

आफन्तले क्वारेन्टिनमा बस्नुपर्छ भनेपछि उनी त्यहाँबाट हिँडेका थिए। उनलाई बाटोमा अचेत अवस्थामा फेला पारेपछि क्वारेन्टिनमा राखिएको थियो। त्यसपछि उनले क्वारेन्टिनमै आत्महत्या गरेका थिए भने मृत्युपछि कोरोना पुष्टि भएको थियो।

Leave A Reply

Your email address will not be published.