सुरक्षित गर्भपतनबारे सचेतना फैलाउनु पर्नेमा जोड
झलक पाली/असार ९, डोटी ।
गर्भपतन गराउने कार्य महिलाको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय हो ।
कतिपय महिलाहरू आफ्नो ज्यान उच्च जोखिममा राखेर असुरक्षित तवरले गर्भपतन गराउने गरेका गुनासा तथा सवालहरु बेला-बेलामा उठ्ने गरेको छ ।
सचेतनाको कमीका कारण नै यस्तो समस्या आउने गरेको केआईसिंह गाउँपालिका डोटीका स्वास्थ्य शाखा प्रमुख देवराज जोशीले बताए ।
जसका लागि सरकारी तथा गैह्र सरकारी सबै क्षेत्रबाट प्रजनन सम्बन्धि स्वास्थ्य शिक्षामा जोड दिनुपर्नेमा उनको जोड छ ।
जसमा सुरक्षित गर्भपतनका फाइदा र असरहरु, कानुनी प्रावधानहरु, सुरक्षित गर्भपतन निशुल्क गराउने सुचिकृत सेवा प्रदायक स्वास्थ्य सँस्था र स्वास्थ्यकर्मी, परिवार नियोजन विधि, परिवार नियोजनका साधनहरु र तिनको उचित प्रयोग, परिवार नियोजनका साधनको प्रयोग गर्दा देखिने साइड इफेक्टबारे परामर्श सेवा लगाएत विषयमा विशेषगरि महिलाहरु र आम नागरिकमा सचेतना फैलाउन जरुरी रहेको जोशीले बताए ।
गोपनियताका कारण पनि लुकिछिपी र कानुनी मान्यता विपरित असुरक्षित गर्भपतन गराउने गरेको गुनासो आफुले पनि छिटफुट रूपमा सुन्दै आएको उनले अनुभव सुनाए ।
आफुले केआईसिंह गाउँपालिकामा प्रजनन स्वास्थ्य सङ्गै अन्य स्वास्थ्य शिक्षाबारे किशोर किशोरीलाई सङ्गै राखेर अभिमुखिकरण संचालन गर्ने, समुदायको माग र समस्या पहिचान गरि समाधान गर्न समुदायमै प्रवर्द्धनात्मक सङ्गै उपचारात्मक सेवा दिने उद्देश्यले ‘समुदाय नर्स’ कार्यक्रम अगाडि सार्न लागेको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए ।
त्यस्तै विद्यालय शिक्षामा पनि प्रजनन स्वास्थ्य शिक्षालाई प्राथमिकतामा राख्नु जरुरी रहेको उनको भनाइ छ ।
केआईसिंह गाउँपालिकाभित्र तिखातर, दुर्गामाण्डौ र भूमिराजमाण्डौ स्वास्थ्यचौकीमा १० हप्तासम्मको सुरक्षित गर्भपतन सेवा प्रदान गरिने भए पनि दक्ष जनशक्तिको कमि, आवश्यक औषधि उपकरणको कमिले प्रभावकारी र दिगो सेवा दिन कठिनाइ रहेकोे उनलेे बताए ।
केआईसिंह गाउँपालिकाभित्र रानागाउँ र वासुदेवी स्वास्थ्यचौकीमा पनि १० हप्तासम्मको गर्भपतन सेवा प्रदान गर्ने तयारीमा आफुहरु रहेको तर सोभन्दा माथी कानुनी प्रावधान अनुसार २८ हप्तासम्मको सुरक्षित गर्भपतनका लागि उपल्लो निकायमा प्रेषण गर्नुपर्ने वाध्यता रहेको उनलेे बताए ।
सामुदायिक विकास मञ्च (सिडिएफ) डोटीले अरु पालिकाहरु सहित केआईसिंह गाउँपालिकामा सुरक्षित गर्भपतन सुदृढीकरण परियोजना पनि संचालन गर्दै आएको छ ।
जस अन्तरगत सबै वडाहरुमा ‘नेचुरल लिडर’ खटाएको छ । उनीहरुले गाउँमा किशोरी, महिला युवाहरूलाई प्रजनन स्वास्थ्य, सुरक्षित गर्भपतन, बाल विवाह, परिवार नियोजनका साधन र तिनको प्रयोग, छाउपडी प्रथा लगाएत विषयमा छलफलमार्फत सचेतनामूलक कार्यक्रम गर्ने गरेका छन् ।
ती ‘नेचुरल लिडर’हरुले खेलेको भूमिकाको सम्मान गर्दै गाउँ बस्तिको यथार्थ अवस्थाको रिपोर्टिङ र थप के गर्नु आवश्यक छ भन्ने बारेमा स्वास्थ्य शाखालाई सुझाव दिनसके अझै राम्रो हुने केआईसिंह गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जोशीको अपेक्षा छ ।
पहिले गाउँमा असुरक्षित तवरले गर्भपतन गराउने एक/दुई केशहरु आफैले पनि देखेको सम्झिदै केआईसिंह गाउँपालिका वडा नम्बर ५ मा कार्यरत ‘नेचुरल लिडर’ यशोदा महराले पछिल्लो समयमा भने नदेखिएको बताइन् ।
सकभर गर्भपतन गराउनुपर्ने अवस्था आउन नदिन र गर्भपतन गराउनै परे सुरक्षित गर्भपतन गराउने वातावरणका लागि सबैले लाग्नुपर्ने उनको जोड छ ।
त्यस्तै केआईसिंह गाउँपालिका वडा नम्बर २ का धरु बिकले आफू पछिल्ला २ वर्षदेखि ‘नेचुरल लिडर’को जिम्मेवारी लिई समुदायमा सचेतना फैलाउदै आएको बताइन् ।
स्थानीय तहको निर्वाचन २०७९ बाट आफू निर्वाचित भएर केआईसिंह गाउँपालिका गाउँ कार्यपालिका सदस्य समेत रहेको जनाउदै उनलेे आगामी वर्षमा गाउँपालिकाबाट सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन सचेतनामूलक कार्यक्रम संचालनका लागि आफ्नो प्रतिबद्धता समेत व्यक्त गरिन ।
आम महिला र जनसमुदायमा सुरक्षित गर्भपतन सेवाबारे सन्देश फैलाउन संचारकर्मीले पनि भुमिका खेल्नुपर्नेमा उनलेे जोड दिईन् ।
पछिल्लो समयमा सुरक्षित गर्भपतन गराउने र तत्पश्चात छोटो तथा लामो अवधिका परिवार नियोजनका अस्थायी साधनको प्रयोगकर्ताको दर बढ्दो क्रममा देखिनु सकारात्मक पक्ष रहेको सामुदायिक विकास मञ्च डोटीका सुरक्षित गर्भपतन सुदृढीकरण परियोजनाका कार्यक्रम अधिकृत मधु पोखरेलले बताइन् ।
सुरक्षित गर्भपतन सेवालाई अझै प्रभावकारी बनाउन र सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न संघ, प्रदेश र स्थानीय गरि सबै तहका सरकारहरुका साथै स्वास्थ्य क्षेत्रमा क्रियाशील सम्पुर्ण जनशक्ति, संघसँस्था, नागरिक समाज, सञ्चार क्षेत्र सबैले विशेष प्राथमिकतासाथ लाग्नुपर्ने उनको जोड छ ।
सामुदायिक विकास मञ्च डोटीले आइपास नेपालसँगको साझेदारीमा डोटीको सायल र केआईसिंह गाउँपालिका तथा डडेल्धुराको नवदुर्गा र भागेश्वर गाउँपालिकामा सन् २०१८ देखि सुरक्षित गर्भपतन सुदृढीकरण परियोजना संचालन गर्दै आएको सामुदायिक विकास मञ्च डोटीका फोकल पर्शन सिद्धराज जोशीले जानकारी दिए ।