डाेटी जिल्ला पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा
असार २७, डाेटी ।
डाेटी जिल्लालाई पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गरिएकाे छ । जिल्लाका ९ वटै पालिकाहरु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएपश्चात जिल्लालाइ पनि सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले एक कार्यक्रमकाबीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा गरेका हुन् ।
नेपाल सरकारको नियमित वार्षिक कार्यक्रम अन्तर्गत पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्यक्रमको मापदण्ड भित्र रहेर यही असार १५ गतेदेखि असार २२ गते सम्म जिल्लाका नगरपालिका तथा गाउँपालिकाहरुलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा गरिएकाे थियाे ।
जिल्ला घोषणा कार्यक्रममा बाेल्दै प्रमूख अतिथि राज्यमन्त्री रैकाले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलाे प्राथमिकतामा राखेर कार्यक्रम संचालन गर्ने बताए । उनले प्रदेश सरकारप्रति गुनासाे गर्दै स्वास्थ्य भवनका लागि छुट्याइएकाे बजेट तथा कार्यक्रम काटेर मन्दिरहरूमा बजेट हालेकाले त्यसमा आफ्नो असहमती रहेकाे बताए ।
१५ महिनाभित्रैका बालबालिकालाई १३ वटा राेगका बिरूद्ध विभिन्न १४ वटा खाेप लगाउने गरिएकाे स्वास्थ्य कार्यालय डाेटीका प्रमुख तथा जिल्ला पूर्णखाेप समन्वय समितिका सदस्य सचिव डिल्लीरमण जाेशीले जानकारी दिए । डाेटीका दुई सय ४८ वटा खाेपकेन्द्रबाट खाेप दिइने गरेको पनि स्वास्थ्य कार्यालयले जनाएकाे छ ।
डाेटीका जम्मा तीन हजार ८६ बालबालिकालाई खाेपकाे सुनिश्चितता गरेर जिल्ला घाेषणा गरिएकाे जाेशीले बताए । खाेप लगाउन सुरू गरेर बीचमै छाेडेका जिल्लाभरीका ८९ जना बालबालिकालाई समेत पूर्णखाेप लगाइएकाे जाेशीले जनाएका छन् ।
कार्यक्रममा बाेल्दै जिल्ला समन्वय समिति एवं जिल्ला पूर्णखाेप समन्वय समितिका संयाेजक लक्ष्मण सिंहले जिल्ला पूर्णखाेप घाेषणाका लागि सहयाेग गरेकाेमा सबै निकायलाई धन्यवाद दिदै खाेपका कारण मानिसकाे आयुमा समेत वृद्धि हुने भएकाले याे स्वास्थ्यकाे महत्त्वपूर्ण सूचक रहेकाे बताए ।