डेंगुबाट कैलालीमा ३५ वर्षीया युवतीको मृत्यु

486

भाद्र १६, डोटी ।
डेंगुको संक्रमणबाट कैलालीमा एक युवतीको मृत्यु भएको छ । उपचारका क्रममा ३५ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए ।
उनका अनुसार धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिलाको निसर्ग अस्पतालमा गत मंगलबार उपचारका क्रममा मृत्यु भएको हो ।
‘अस्पतालले डेंगु भएको पुष्टि गरेको छ । त्यसको साथै छातीमा समस्या भएको चिकित्सकले जनाएका छन्,’ धामीले अनलाइखबरसँग भने।
स्वास्थ्य कार्यालय कैलालीले टेलिफोन मार्फत डेंगुबाट मृत्यु भएको जानकारी दिए पनि औपचारिक रूपमा विवरण आइनसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रणको महाशाखाका एक उच्च अधिकारीले बताए ।
महाशाखाका अनुसार गत पुसदेखि हालसम्म २ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको छ । देशभर ७२ जिल्लामा डेंगुका बिरामी फेला परेका छन् । सबैभन्दा बढी ललितपुरमा एक हजारभन्दा बढीलाई संक्रमण भएको छ । त्यसैगरी, काठमाडौं, रूपन्देही, धादिङ लगायतका जिल्लामा डेंगुको प्रकोप बढ्दो क्रममा छ ।
डेंगु संक्रमित व्यक्तिमा श्वास–प्रश्वासमा कठिनाइ भएमा, पेट दुख्ने, गिजाबाट रगत बगेजस्तो हुने, दिसा कालो हुने, उल्टी हुँदा रगत देखिने, बिरामी मुर्छा हुनेलगायत लक्षण देखिएमा जटिल हो भनेर चिन्न सकिन्छ । यस्ता लक्षणका संक्रमितलाई भर्ना भएर उपचार गनुपर्ने वा चिकित्सकको निगरानीमा बस्नुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।
खासमा डेंगुको कुनै उपचार नै छैन । डेंगुका बिरामीले चिकित्सकीय सल्लाहअनुसार निगरानीमा रहँदा संक्रमणले हुने मृत्युलाई शून्यमा झार्न सकिने उनको भनाइ छ । एडिज लामखुट्टेका कारण रोगको संक्रमण हुने हुँदा घर वरिपरि फोहोर, पानी जम्ने खाल्डाखुल्डी भए त्यसलाई सफा गर्नुपर्ने हुन्छ । – अनलाइन खबरबाट

Leave A Reply

Your email address will not be published.