सुदूरपश्चिमको मौलिक सँस्कृति गौरा पर्व शुरु, आज विरुडा पञ्चमी
सुदूरपश्चिम प्रदेश सरकारले दिएको बिदा पनि हटायो
भाद्र १६, डोटी ।
सुदूरपश्चिमको मौलिक सँस्कृति बोकेको महत्वपूर्ण पर्व ‘गौरा’ आजबाट शुरु भएको छ। हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि गौराको शुरूवात भएर भाद्र शुक्ल अष्टमीका दिनसम्म मनाइन्छ । गौराको पहिलो दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ।
आजको दिनमा घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको शुरुवात गरिन्छ। तामा–पित्तलको भाँडोलाई गाईको गोबरले लिपेर गोबर, दुबो, अक्षताले सिङ्गारी त्यसभित्र पञ्चअन्न केराउ, गुरास, मास, गहत र गहुँ भिजाएर राखिन्छ । बिरुडालाई ‘गौरीको प्रसाद’का रुपमा लिईन्छ । पूजाआजाका क्रममा बिरुडालाई प्रसाद र अक्षताका रुपमा प्रयोग गर्ने प्रचलन छ।
यसरी भिजाएका बिरुडालाई दोस्रो दिन अर्थात षष्ठीका दिन पखाल्ने प्रचलन रहेको पाईन्छ।
सप्तमी र अष्टमीका दुई दिन गौराका बिशेष दिनहरु हुन् । सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसंगै उम्रीएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाई बाजागाजाका साथमा ‘गौराघर’मा भित्र्याइन्छ।
अष्टमीको दिनलाई ‘गौराष्टमी’ भनेर बुझिन्छ। गौराष्टमीका दिन पूजाआजा गर्दै, मंगलगानका साथमा गौरालाई नचाईन्छ। त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, भने विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाहरु गाउँदै नचाउने गरिन्छ।
गौराको बेला सुदूरपश्चिमेली देउडा पनि भव्य खेल खेल्ने गरिएको पाईन्छ।
गौरालाई सुदूरपश्चिममा गमरा, गोःरा, गवरा पनि भन्ने गरिन्छ। विषेश गरि महिलाहरूले व्रत बसेर गौरा पर्व मनाउने गर्दछ्न ।
यस पर्वलाई सुदूरपश्चिमेलीको महत्वपूर्ण मौलिक पर्व मानिए पनि सुदूरपश्चिम प्रदेश सरकारले भने गौरा पर्वको अवसरमा आफैंले निर्णय गरेर दिएको बिदा समेत कटौती गरेको छ। प्रदेश सरकारले वैशाख १ गते प्रकाशित गरेको प्रदेश राजपत्रमा गौराको अवसरमा भदौ १७ गते बिदा तोकेको थियो । तर हिजो भाद्र १५ गते प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै उक्त बिदा हटाएको जनाएको छ । भदौ ९ गते बसेको मन्त्रीपरिषद बैठकले उक्त बिदा हटाउने निर्णय गरेको सूचनामा उल्लेख छ ।
यस वर्षको गौरा पर्व अर्थात दुर्वाष्टमीको दिन भाद्र १८ गते शनिबार नै परेको छ ।