एमाले डोटी उप–सचिव खड्काद्वारा जन्मदिनको अवसरमा फलफुल वितरण
भाद्र १९, डोटी ।
नेकपा एमाले डोटीका उप–सचिव कृष्णकुमार खड्काले आफ्नो जन्मदिनको अवसरमा आइतबार फलफुल तथा मास्क वितरण गरेका छन् ।
उनले बिहानै जिल्ला अस्पताल डोटीमा रहेका बिरामी र पूज्यधर्मान्तक बृद्धाश्रम सिलगढीमा रहेका आश्रित गरी २२ जनालाई फलफुल वितरण गरेका हुन् ।

समाजसेवा गर्ने आफ्नो इच्छा भएकै कारण बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै र आश्रममा आश्रय लिईरहेकाहरुलाई सम्मानका साथै उनिहरुको मनोबल बढाउन फलफुल वितरण गरेको खड्काले बताए ।
वि.सं. २०३६ साल भाद्र १९ मा डोटीको साविक पोखरी गाउँ विकास समिति हालको पुर्वीचौकी गाउँपालिका–७, सलेनामा बुबा लाल सिं खड्का र आमा डम्मरीदेवी खड्काको कोखबाट जन्मिएका थिए ।

विशेष गरी शिक्षा क्षेत्रमा आफ्नो पहिचान बनाएका खड्काले सन् २००८ मा अंग्रेजी विषयमा एम.ए.÷एम.एड.सम्मको अध्ययन गरेका थिए ।
उनले वि.सं. २०७६ देखि ०७८ सालसम्म डोटी बहुमुखी क्याम्पसमा स्नातक तहमा शिक्षण गरेका थिए भने २०६६ देखि ०७८ सालसम्म सिलगढीमा रहेको पद्यमपब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा कक्षा १२ सम्म अध्यापन गरेका थिए ।
वि.सं. २०७८ पुष २३ देखि २६ सम्म सम्पन्न नेकपा एमालेको डोटी जिल्ला अधिवेशनबाट उप–सचिवमा जिम्मेवारी पाएपछि शिक्षण पेशाबाट राजिनामा दिएका थिए ।

उनले २०६७ सालमा सिलगढीमा जेनियस इन्टरनेशनल एकेडेमी स्थापना गरी हाल कक्षा ९ सम्मको पठनपाठन पनि सञ्चालन गर्दै आएका छन् ।
आफुलाई समाजसेवा गर्ने तिव्र इच्छा भएका कारण जागिर समेत छोडेर आफुलाई खुल्ला राजनीतिमा समर्पित गरेको खड्काले बताए ।
फलफुल वितरण कार्यक्रममा जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर निराजन श्रेष्ठ, डाक्टर सोहन शाह, पत्रकार लगाएतको सहभागिता रहेको उनले जानकारी दिए ।
