सुदूरपश्चिमको प्रसिद्ध घण्टेश्वर मन्दिरमा आज राति मेला लाग्दै

3,224

झलक पाली/भाद्र १९, डोटी
डोटीको जोरायल गाउँपालिका वडा नं. १ र ४, तथा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ र आलिताल गाउँपालिका–१ को सिरानमा महाभारत लेगमा पर्ने घण्टेश्वर देवताको मेला आज राती लाग्दैछ ।
हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाग्ने उक्त मेलामा राजा रजौटाकै पालादेखि मालपोत कार्यालयमार्फत मेला खर्च पठाइदै आएकोमा त्यसै व्यवस्था अनुसार नेपाल सरकारले पनि सानोतिनो रकम पठाउँदै आएको छ ।
यता मेला व्यवस्थापन समितिबाट पनि नेपाल सरकारलाई घण्टेश्वर देवताको प्रसादका रुपमा ‘तिलख’ पठाउने प्रचलन रहेको छ ।
घण्टेश्वर देवताको विधानमा उल्लेख भए अनुसार भारतको बद्री केदार भएर कैलाश प्रवेश गर्ने बेलामा स्थानीय पासा देवताले रोकेर त्यो ठाउँमा बास बसेको बुढापाकाहरुको भनाई छ ।
डोटीको जोरायल क्षेत्रको महत्वपूर्ण मानिने सो मेलामा श्रद्धालु भक्तजनहरुको निकै ठूलो भिड लाग्ने गर्दछ ।
पवित्र मनले उपवास बसि घण्टेश्वर बाबाको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।
सो मेलामा जोरायल गाउँपालिका वडा नं. ४ लक्ष्मीनगरको बिनोडा गाउँबाट करिब ५ घण्टाको पैदल यात्रा गरि घण्टेश्वर देवताको देउरो मन्दीरसम्म पुर्याउने गरिन्छ भने लक्ष्मीनगरकै सैगडा, घण्टेश्वरको सुनलेक, डडेल्धुराको आलिताल गाउँपालिकाको गांखेतको उणी, गन्यापधुरा गाउँपालिकाको जर्माना गाउँबाट पनि देउरो ल्याउने गरिन्छ ।
मेलामा रातभर महिला र पुरुषहरूको छुट्टाछुट्टै रूपमा सुदूरपश्चिमेली देउडा खेल खेल्ने प्रचलन पनि रहेको छ ।
धनगढी–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गको हगुल्टेबाट करिब पौने ४ किलोमिटरको दुरीमा रहेको घनघोर जङ्गलको बिचमा अवस्थित उक्त मन्दिरसम्म पुग्न सकिन्छ । मेला स्थलसम्म सडक सुविधा पुगेको भए पनि वर्षातले बाटो हिलाम्य हुँदा केहि समस्या भएको स्थानीयले बताएका छन् ।
यद्यपी विद्युत पहुँच भने अझै पुग्न सकेको छैन ।
यस वर्ष सोही क्षेत्रमा पासा देवताको नवनिर्मित मन्दिरको प्राण–प्रतिष्ठा कार्यक्रम रहेकाले हिजो शनिबार नै देउरो ल्याएर भक्तजनहरु आएका थिए । आज गौदान सहित मन्दिरमा पूजाआजा भईरहेको घण्टेश्वर देवता धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष भीम बहादुर मडैले जानकारी दिए ।
गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट मन्दिर परिसरमा आँगन सम्म्याउन र पर्खाल लगाउन रु. १० लाख सहयोग भएर काम सम्पन्न भएको छ ।
यस वर्ष निवर्तमान सँस्कृति, पर्यटन तथा नागरिक उडडययन मन्त्री प्रेम बहादुर आलेमगरले पर्यटन विभागमार्फत ३ करोड बढीको बजेट विनियोजन गरी ठेक्का सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ ।
गाउँबस्ती देखि केहि टाढा बाक्लो जंगलको बिचमा रहेको उक्त क्षेत्रमा पूर्वाधारको विकास भएमा पर्यटकहरुको गन्तव्य बन्ने देखिन्छ ।
घण्टेश्वर मेलामा डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर लगाएत विभिन्न टाढा–टाढाबाट हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरुको भिड लाग्ने गर्दछ ।
मेला दोश्रो दिन बिहानसम्म लाग्ने गर्दछ ।

Leave A Reply

Your email address will not be published.