डोटीमा यसरी मनाईयो १४ औं मुक्त हलिया दिवस
भाद्र २१, डोटी ।
आज १४ औं मुक्त हलिया दिवस डोटीमा मनाईएको छ ।
नेपाल सरकारले विशेष गरी सुदूरपश्चिम र मध्यपश्चिममा व्याप्त हलिया प्रथाको अन्त्य गर्न वि.सं. २०६५ भाद्र २१ गते हलिया मुक्तिको घोषणा गरेको दिनको सम्झनामा डोटीमा पनि र्याली तथा औपचारिक कार्यक्रम आयोजना गरी दिवस मनाईएको हो ।
राष्ट्रिय मुक्त हलिया समाज नेपाल डोटी र सम विकास केन्द्र (इडिसी) नेपाल डोटीको संयुक्त आयोजनामा मुक्त हलिया बँधुवा मजदुरको जिल्ला सम्मेलन आयोजना गरेका हुन् । पिसविन र राष्ट्रिय मुक्त हलिया समाज महासंघसँगको समन्वय र एक्शन एडसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको सम विकास केन्द्र नेपालका अध्यक्ष अधिराज बिसीले बताए । कार्यक्रममा बोल्दै बिसीले यसपूर्व पुनस्र्थापनामा परेका मुक्त हलियाहरुको न्यायिक पुनस्र्थापना हुन नसकेको र अँझै पनि हलिया मुक्तिको अभियान पूरा नभएको बताए ।

१४ औं मुक्त हलिया दिवस मनाउँदै गर्दा मुक्त हलियाका अगुवाबिचको स्वार्थका कारण र स्थानीय, प्रदेश तथा संघीय सरकारले वास्ता नगरेका कारण पछिल्लो समयमा हलिया पुनस्र्थापनाको आन्दोलन केहि सेलाएको भए पनि उचित पुनस्र्थापनाका कामहरु अँझै पूरा नभएको राष्ट्रिय मुक्त हलिया समाज महासंघका पूर्व अध्यक्ष एवं सायल गाउँपालिकाका कार्यपालिका सदस्य डम्बर बि.क.ले बताए ।
कार्यक्रममा आधारपत्र प्रस्तुत गर्दै राष्ट्रिय मुक्त हलिया समाज महासंघका केन्द्रिय सदस्य गोरख सार्कीले मुक्त हलियाका काम गर्न बाँकी सवाल पूरा गर्ने गरी थुपै्र सुझाव पेश गर्दै आफुहरुको अभियान जारी रहेको बताए ।

त्यस्तै राष्ट्रिय मुक्त हलिया समाज डोटीका पूर्व अध्यक्ष एवं राष्ट्रिय मुक्त हलिया पुनस्र्थापना कार्यदलका पूर्व सदस्य सिता बिकले अहिलेका मुक्त हलियाका नेतृत्वहरुले समन्वयकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आगामी दिनमा मुक्त हलियाको साझा मुद्दामा सबै राजनीतिक दललाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिइन् ।
त्यस्तै जिल्ला समन्वय समिति डोटीका प्रमूख लक्ष्मण सिंहले कार्यक्रमलाई सम्बोधन गर्दै आजैका मितिबाट मुक्त हलियाका आन्दोलनमा होमिएको बताएका थिए ।
कार्यक्रममा मालपोत कार्यालय डोटीका प्रतिनिधी सिद्धराज श्रेष्ठले मुक्त हलियाको तथ्यांकबारे संक्षिप्त जानकारी गराएका थिए ।
राष्ट्रिय मुक्त हलिया समाज डोटीका कार्यवाहक अध्यक्ष बजिर सिं दमाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको बन्द शत्रबाट नयाँ नेतृत्व समेत चयन हुने बताईएको छ । अहिले बन्द शत्र जारी छ ।