भैरवप्रसाद गणद्वारा डोटीको ‘इन्द्रेणी’ झरना जाने बाटो मर्मत र सरसफाइ
भाद्र २७, डोटी ।
डोटीको सिलगढीमा रहेको नेपाली सेनाको भैरव प्रसाद गणले दिपायल सिलगढी नगरपालिका वडा नं. ९ मा रहेको ‘इन्द्रेणी’ झरना जाने बाटो मर्मत गर्नुका साथै झरना वरपर सरसफाई समेत गरेको छ ।
पर्यटकहरूलाई आवतजावतमा सहज बनाएर स्थानीय पर्यटन प्रवर्द्धनका लागि टेवा पुर्याउने उद्देश्यले झरना जाने बाटो मर्मत एवं वरपर सरसफाइ गरिएको भैरव प्रसाद गणका गणपति जन्मत कार्कीले बताए ।
उनले भने-“स्थानीय स्तरमा राम्रो पर्यटकीय सम्भावना बोकेको इन्द्रेणी झरना जाने बाटो बिग्रेको हुँदा त्यहाँ पुग्न कठिनाइ थियो, हाम्रो सेनाको टिमले मर्मत गरेको छ र वरपर सरसफाइ पनि गरेका छौं ।”
सिलगढीबाट करिब आधा घण्टा गाडी यात्रापछि पुग्न सकिने गुणे गाउँ नजिकैको झरना जाने बाटो वर्षाका कारण सडक र बाटो बिग्रेकाले हिडडुल गर्न समस्या रहेको थियो भने कतिपय ठाउँमा पैदल हिड्न समेत जोखिमपूर्ण पनि रहेको थियो ।
नेपाली सेनाले बिग्रेको सडक तथा पैदलमार्ग मर्मत गरेपछि स्थानीयबासी हर्षित भएका छन् ।
नेपाली सेनाको भैरवप्रसाद गण डोटी आएदेखी विभिन्न खेलकुद, सामाजिक, साँस्कृतिक र पर्यटकीय विकासका काममा देखाएको सक्रियताको दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नरेश मलासीले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
मलासीले भने-“भैरवप्रसाद गणका गणपति जनमत कार्की र उहाँको टिमले डोटीमा खप्तड म्याराथन दौड, भैरव ट्रफी, वृक्षारोपण, ऐतिहासिक सम्पदाको संरक्षण, कला सँस्कृति संरक्षण, बाटो मर्मत, बिरामीलाई रक्तदान, स्वास्थ शिविर लगाएतका महत्त्वपूर्ण काम गर्दै आएको छ । म खुलेर प्रशंसा गर्दै धन्यवाद दिन चाहन्छु ।”
आफू डोटीमा बस्दा नेपाली सेनाको भैरवप्रसाद गणले गर्न सकिने कामको लागि आफु तयार रहेको र तत्काल केहि गर्नैपर्ने काम भए सम्पर्क समन्वय गर्न गणपति कार्कीले सबैलाई अनुरोध समेत गरेका छन् ।