डोटीका २७ जनामा डेंगु पुष्टि, दिपायल सिलगढीका मात्रै ११ जना

1,085

किरण धामी/भाद्र २८, डोटी ।
डोटीमा २७ जना डेंगुका सङ्क्रमित फेला परेका छन् । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु यो वर्ष जिल्लामा भदौ १३ गते पहिलो पटक फेला परेको थियो । त्यसयता क्रमशः जिल्लामा डेंगुका सङ्क्रमित बढिरहेका छन् ।
जिल्ला अस्पताल डोटीका मेडिकल रिपोर्टर नारद प्रसाद भट्टका अनुसार भदौ १३, १४ र १६ गते एक/एक जना, १७ गते २ जना, २० गते ४ जना, २१ गते २ जना, २४ गते ३ जना, २५ गते २ जना, २६ गते ४ जना, २७ गते २ र २८ गते (आज) ४ जनामा डेंगुका सङ्क्रमित फेला परेका हुन् ।
डेंगुका सङ्क्रमित मध्ये १२ जना पुरुष र १५ जना महिला हुन् ।
दिपायल सिलगढी नगरपालिकाका ११ जना, शिखर नगरपालिकाका ७ जना, पुर्विचौकी गाउँपालिकाका ६ जना, सायल गाउँपालिकाका २ जना र के.आई.सिंह गाउँपालिकाका एक जनामा डेंगु फेला परेको जिल्ला अस्पताल डोटीले जनाएको छ ।
सफा पानीमा हुने लामखुट्टेको टोकाइले डेङ्गुको सङ्क्रमण फैलिने गरेको छ । यो वर्ष डोटीमा यसको सङ्क्रमण उकालो लाग्ने क्रममा छ ।
एडिस एजिप्टाइ र एडिस एल्वीकिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गु सङ्क्रमण हुने जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहले बताए । भाइरसजन्य यो रोगको विशिष्ट उपचार पद्धति विकास नभएको भए पनि लक्षणको आधारमा डाक्टरको निगरानीमा उपचार गरे निको हुने डाक्टर शाहले बताए ।

Leave A Reply

Your email address will not be published.