डोटी प्रदेश सभा १ मा ४५० मतान्तर सहित एमाले उम्मेदवार मल्ल विजयी

936

मंसिर ७, डोटी ।
डोटीमा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार चक्र मल्ल विजयी भएका छन् ।
नेकपा (एमाले) डोटी जिल्ला अध्यक्ष समेत रहेका मल्लले उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेस डोटीका सभापति नरेन्द्र बहादुर सिंहलाई ४५० मतले पछि पार्दै विजयी भएका हुन् ।
एमाले उम्मेदवार मल्लले १५,२७९ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार सिंहले १४,८२९ मत प्राप्त गरेका छन् ।
विजयी भएका एमाले उम्मेदवार मल्ल डोटीको आदर्श गाउँपालिका ४ का स्थायी बासिन्दा हुन् । उनी २०७४ सालमा प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार भरत बहादुर खड्कासङ्ग पराजित भएका थिए ।
एमाले नेता मल्लसङ्ग पराजित गठबन्धनका उम्मेदवार एवं काङ्ग्रेस सभापति सिंह पनि आदर्श गाउँपालिका ५ का स्थायी बासिन्दा हुन् ।
दुवै जना उम्मेदवार प्रमुख प्रतिष्पर्धी दलका जिल्ला प्रमुख तथा एउटै पालिकाका भएकाले यस पटकको निर्वाचन रोचक मानिएको थियो ।
तर मत गणनाका क्रममा शुरूवात देखि अग्रता लिएका एमाले उम्मेदवार मल्लले अविछिन्न अग्रता लिदै अन्तिममा विजयी भएरै छोडेका छन् ।

Leave A Reply

Your email address will not be published.