डोटीको पूर्वीचौकीका भुकम्प प्रभावित २०० विपन्न दलित परिवारलाई न्यानो कपडा वितरण
पुस २, डोटी ।
डोटीको पूर्वीचौकी गाउँपालिकाका भुकम्प प्रभावित २०० विपन्न दलित परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।
खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर कार्तिक २२ गते मंगलबार राति २ः१२ बजे गएको ६.६ मेग्निच्युटको भुकम्पबाट प्रभावित परिवारहरुलाई लुथरन विश्व फेडरेशन नेपालको आर्थिक सहयोगमा उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मञ्च डोटीले न्यानो कपडा वितरण गरेको हो । उक्त भुकम्पमा परी पूर्वीचौकी ३ गैरागाउँमा ६ जनाले ज्यान समेत गुमाउनु परेको थियो ।
सो भुकम्पबाट प्रभावित पूर्वीचौकी गाउँपालिका-१, खिरसैनमा ३५ वटा, वडा नम्बर २, बगलेकमा ४१ वटा, वडा नम्बर-३, गैरागाउँमा ५० वटा, वडा नम्बर-४, सानागाउँमा ३३ र वडा नम्बर-५, काँडामाण्डौमा ४१ वटा गरि जम्मा २०० विपन्न दलित परिवारलाई न्यानो कपडा वितरण गरिएको उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मञ्चका कार्यक्रम अधिकृत भक्तराज उपाध्यायले जानकारी दिए ।
भुकम्प प्रभावितहरुलाई चिसो मौसममा राहत होस् भन्ने उद्देश्यले प्रति परिवार २ वटा उनको ब्लाङकेट, ४ वटा उनको टोपी, २ वटा उनको सल, १.५ मिटर लामो तथा १.८३ मि. चौडा कार्पेट (म्याट) वितरण गरिएको उक्त सँस्थाका सचिव डम्बर सिं डौडीले बताए ।
सम्बन्धित वडाका जनप्रतिनिधि र स्थानीयसङ्गको समन्वयमा हालसम्म कुनै पनि निकायबाट सहयोग प्राप्त नगरेका विपन्न दलित परिवारलाई न्यानो कपडा वितरण गरिएको उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मञ्च, डोटीका अध्यक्ष टिका सिं नेपालीले बताए ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको आचार संहिताका कारण न्यानो लुगा राहत वितरणमा केहि ढिलाई भएको पनि उनलेे बताए ।
न्यानो लुगा वितरणमा स्थानीय जनप्रतिनिधि, उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मञ्चका पदाधिकारी तथा कर्मचारी, लुथ्रन विश्व फेडेरेशनका परियोजना अनुगमन तथा मुल्यांकन अधिकृत ममता लामा र स्थानीयको सहभागीता रहेकोे थियो ।
आगामि दिनहरुमा थप सरसफाई सामाग्री, अपांगता भएका व्यक्तिलाई सहयोगी सामाग्री, अस्थायी शौचालय र अस्थायी घर टहरा बनाउन सहयोग गर्ने योजना रहेको उक्त सँस्थाले जनाएको छ ।