डोटीको बुडरमा १० जना मुक्त हलियालाई आरन सम्बन्धि सिप विकास तालिम शुरु
पुस ११, डोटी ।
डोटीको जोरायल गाउँपालिका वडा नं. २, बुडरमा मुक्त हलिया परिवारका १० जनालाई ४५ दिने आरन सामाग्री बनाउने सिप विकास तालिम शुरु भएको छ ।
विपन्नताका कारण अति कमजोर घरायसी बन्दोबस्त भएका १० जना मुक्त हलियालाई आरन सामाग्री बनाउने सिप विकास तालिम संचालन गरि स्वरोजगार बनाउने उद्देश्यले तालिम संचालन गरिएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय राजपुर डोटी, इ.एल.सि.ए. र लुथरन विश्व फेडरेशन नेपालको आर्थिक सहयोग तथा उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मंच (यु.एस.एस.वि.एम.) डोटीको आयोजनामा तालिमको आईतबार शुरूवात गरिएको यु.एस.एस.वि.एम.का कार्यक्रम अधिकृत भक्तराज उपाध्यायले जानकारी दिए ।
तालिमको उद्घाटन गर्दै जोरायल गाउँपालिका वडा नं. २ का कार्यवाहक वडा अध्यक्ष मिना देवि कामिले तालिमपश्चात आरन व्यवसाय दर्ता प्रक्रियामा सहयोग गरी थप अन्य सहयोग गर्न सकिने र ४५ दिने तालिमको अवधिमा पनि बेला बखत अनुगमन गरिने बताइन् ।
तालिमको उद्घाटनमा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय राजपुर डोटीका प्रमुख दिपेन्द्र शाहले तालिममा सहभागिहरुलाई सिपयुक्त बनाई सफल बनाउनुपर्नेमा जोड दिए । उनले भने-“तालिमको शुरुवात भएको छ, तालिममा सहभागिहरुले आवश्यक सामाग्री निर्माणको सिप पूर्ण रूपमा सिक्नुपर्छ । तालिमका लागि आवश्यक सबै सामाग्री कार्यालयबाट हामी सहयोग गर्छौं ।”
स्थानीय स्तरमा परम्परागत रुपमा चल्दै आएको आरन व्यवसायलाई संरक्षण गर्नुका साथै स्थानीय युवाहरुलाई स्वरोजगार बनाउन तालिमले सहयोग गर्ने यु.एस.एस.वि.एम. डोटीका कोषाध्यक्ष जयन्द्र बहादुर खडकाले विश्वास व्यक्त गरे ।
उक्त तालिम आगामी माघ २५ गतेसम्म संचालन हुनेछ भने प्रशिक्षार्थीहरुले आरन व्यवसाय संचालन गर्ने सिप सिकी आयआर्जनतिर अग्रसर हुने अपेक्षा गरिएको छ ।
तालिमको उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायत संस्थाका पदाधिकारीहरु र प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
तालिममा प्रशिक्षक गजेन्द्र बहादुर वि.क.ले सिप सिकाउने छन् । तालिममा सीप सिक्नको लागि पंखा, लेई, घन, हतौडा, सणेसो, ग्राउण्ड मेसिन, ग्राउण्ड पाता, बासुला, पलास, पेचकस, स्वाग, पित्तल, फलाम, चाँदी, तामाको तार, काठे रेत, दाँते आरी, फलाम चम्काउने मेसिन लगायतका सामानहरु प्रशिक्षार्थीहरुलाई सहयोग गरिएको संस्थाका जीविकोपार्जन सहजकर्ता गणेश बहादुर कोलीले बताए ।
यु.एस.एस.वि.एम.ले डोटी जिल्लामा मुक्त हलियालाई लक्षित गरेर आयआर्जनका क्रियाकलाप संचालन गर्दै आएको छ ।