सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

208

पुस १५, डोटी ।

आज पुस १५ गते सुदूरपश्चिम प्रदेशमा ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ ।  यस प्रदेशको मौलिक परम्पराका र सँस्कृति यो पर्व यहाँका नौ वटै जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधाम साथ मनाइन्छ ।

हरेक वर्षको पुस १५ गते गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बसी १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा (डोटेली भाषामा बात हाल्ने अर्थात बाँतै) भन्दै रात काट्ने गरिन्छ । यस दिन खासगरी तरुल, सखरखण्ड, फर्सी, पिँडालु, लगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन छ । माटोमुनि उम्रिने पदार्थ खाँदा जाडो भाग्ने र शरीरमा तागत बढ्ने जनविश्वास लिईन्छ ।

पुस पन्ध्रको दिन मानिसहरू वन जङ्गलमा काम नगर्ने र बञ्चरो, हँसिया, घाँसपात, दाउरा बान्ने डोरी आदिको पनि वनमै गएर बासना उठाएर पूजा गर्ने चलन छ । बासना उठाउने भन्नाले सेल, पुरी, झ्याउको लगाएतका तेलमा पकाउने परिकार पकाउने गरिन्छ ।

कामका हिसाबले केही फुर्सदिलो समय भएकोले पुस पन्ध्रको लामो रातलाई कतै कतै कुनिकेउली खाने अर्थात मिठो मीठो खानेकुरा पकाएर खाने पर्वका रूपमा पनि लिने गरिन्छ ।

यद्यपि पछिल्ला दिनहरुमा यो पर्व मनाउने चलनमा केही कमी आएको देखिन्छ । कतिपय गाउँठाउँमा आजको दिन डेउडा पनि खेल्ने गर्दछन् ।

Leave A Reply

Your email address will not be published.