आरन व्यवसायबाट दिनमा १८ हजारसम्म कमाई !

1,759

बैशाख ५, डोटी ।
डोटीका एक युवाले आरन व्यवसायबाट दिनमा कम्तीमा ५ हजारदेखि १८ हजारसम्म कमाई भएको अनुभव सुनाएका छन् ।
डोटी जिल्ला सदरमुकाम सिलगढीमा संचालित न्यु कृष्णभक्त आरन उद्योगका सञ्चालक भक्त बहादुर बिकले नजर अनलाइनलाई यस्तो अनुभव सुनाएका हुन् ।
जिल्लाको सायल गाउँपालिका–४ भल्मा स्थायी घर भएका ३७ वर्षीय युवा बि.क. करिब ५/६ वर्ष पहिले गाउँबाट सदरमुकाम आएर आरन व्यवसाय सञ्चालन गरिरहेका छन् ।
उनलेे दिपायल सिलगढी नगरपालिका–६ सिलगढीस्थित मुलढोकामा आरन व्यवसाय सञ्चालन गर्दै आएका छन् । हाल उनले वडा नम्बर ६ मै पक्की घर बनाएर बसाइँसराइ समेत गरिसकेका छन् ।
परम्परागत सीप र सामाजिक रुपमा हेलाका दृष्टिले हेरिन थालेपछि धेरै जसो ठाउँमा आरन व्यवसाय संंकटमा परिरहेको बेला उनले भने जमेर आरन व्यवसाय सञ्चालन गरिरहेका छन् । २०७५ सालमा उनलेे करिब ८ लाखको लगानिमा आरन व्यवसाय शुरूवात गरेको बताए ।
विपन्न दलित परिवारमा जन्मिएर आर्थिक अभाव झेलिरहेका बि.क.ले आरन व्यवसायबाट अहिले छोराछोरीको पढाइ, स्वास्थ्य उपचार तथा घर खर्च चलाउन कुनै अफ्ट्यारो नभएको बताए । यति मात्रै नभई उनले आरन व्यवसायमा आफ्नै गाउँका १ जनालाई निरन्तर रोजगारी समेत दिएका छन् भने अन्य विभिन्न व्यक्तिहरुलाई पनि कामको चाप अनुसार कमाई गर्ने अवसर दिने गरेको सुनाए ।
व्यवसाय शुरु गर्दा लगानी डुब्ने हो की भन्ने मनमा डर लागेको तर काम गर्दै जाँदा आफु व्यवसायप्रति पूर्ण सन्तुष्ट रहेको ऊनी बताउँछन् । उनको आरन उद्योगमा सेवा लिन दिपायल सिलगढी नगरपालिका, सायल गाउँपालिका, पूर्वीचौकी गाउँपालिकाका साथै अछामसम्मका ग्राहक आउने गरेको ऊनी बताउँछन् ।
उनको आरन उद्योगमा हँसिया, तरवार, खुकुरी, खुंडा, कुटो, कोदालो, चक्कु, चुलेसी, बन्चरो लगाएत सम्पूर्ण फलामका औजारहरु उत्पादन हुन्छन् । यसका साथै उनले सबै खालका फलामे औजारका बिडहरु समेत बनाएर बिक्री गर्ने गरेका छन् ।
आफूले आरन उद्योग शुरु गर्नुपूर्व करिब १० वर्ष भारतमा नोकरी गरेको र त्यहाँ धेरै दुःख झेलेका कारण आफ्नै ठाउँमा व्यवसाय शुरु गरेको उनले सुनाए ।
बजारमा पाइने सामानभन्दा सस्तो भाउमा आफुले उत्पादन गरेका औजारहरु बेच्ने गरेकाले जिल्लाभित्र र जिल्ला बाहिर समेत माग बढेको उनले बताए । नयाँ फलामे औजार उत्पादन सङ्गै पूराना औजार कार्ने (तिखो पार्ने) सेवाग्राहीको भीडले पनि काममा भ्याइनभ्याई हुने गरेको ऊनी सुनाउछन् ।
फलाम पिट्ने काममा तागत समेत खर्च हुने हुँदा सहजताको लागि कुनै निकायबाट फलाम पिट्ने मेसिन सहयोग भैदिए थप आम्दानी बढाउन सकिने उनको विश्वास छ । त्यस्तै आरनको लागि आवश्यक राम्रो र पर्याप्त कोइला नपाईने हुँदा पनि केही समस्या हुने गरेको उनको भनाइ छ ।
पछिल्लो समयमा उनको आरन उद्योगमा बेला मौकामा फलामे औजार निर्माण सम्बन्धि तालिम समेत सञ्चालन हुने गरेको छ ।

Leave A Reply

Your email address will not be published.