सिकाइका लागि अनौपचारीक ढोका खुल्लै छ

512

 

– मीन बहादुर रोकाया

चिनको हुवे प्रान्तको वुहान शहरबाट सन २०१९ को डिसेम्वर अन्तिमतिर विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण विश्व आतंकित भइरहेको बेला हाम्रो मुलूक पनि त्यसको प्रभावबाट अछुतो रहन सकेको छैन ।
आज मिति २०७७ साल भाद्र महिनाको १४ गतेको राती ११ बजेसम्मको अपडेटमा विश्वमा कोरोनाका कारण ८ लाख ४८ हजार ५६४ मानिसहरुले ज्यान गुमाइसकेका छन् भने २ करोड ५२ लाख २८ हजार ३८३ जति मानिसहरु संक्रमित भइसकेका छन् ।
त्यसै गरी हाम्रो देश नेपालमा पनि हालसम्म २ सय २१ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ । त्यस्तै ३८ हजार ५ सय ६१ जना मानिसहरु संक्रमित भइसकेका छन् भने २० हजार ८ सय २२ जना संक्रमण मुक्त भएर घर फर्कि सकेका छन् ।
दिन प्रतिदिन एकपछि अर्को गर्दै फैलावटका रुपमा रहेको कोभिड–१९ का कारण आज देश ठप्प प्रायः रहेको छ । मानिसहरुका दैनिक गतिविधिहरु शून्य जस्तै देखिरहेका छन् । उद्योगधन्दा, कलकारखाना, व्यापार, व्यवसायहरुका साथसाथै यातायात अवरुद्ध भएका छन् ।
२०७६ साल चैत्र महिनाको ११ गते देखि देशमा लकडाउन लागि श्रावण ६ गतेसम्म रहि हाल खुलेता पनि संक्रमण एक पछि अर्को बढीरहेको छ । देशका कयौं जिल्लाहरुमा यसैका कारण निषेधाज्ञाहरु लागु भइरहेका छन् । भनिन्छ लकडाउन खुले पनि कोरोना सकिएको छैन । लकडाउन खुलेर केही सरकारी कार्यालयहरु सुचारु भएका भएता पनि आम जनसमुदायहरुको सबैभन्दा बढी सरोकारवाला क्षेत्र शिक्षा क्षेत्र अझैं खुल्न सकेको छैन ।
विश्व विद्यालय, क्याम्पसहरुका साथ साथै देशैभरका सम्पूर्ण विद्यालय तथा शिक्षण संस्थाहरु विगतलामो समय देखि संचालन हुन सकेका छैनन् । अझैं कतिदिन सम्म बन्द रहन्छन् त्यसको एकिन गर्न सकिने अवस्था पनि छैन ।
अत ः यसरी लामो समय सम्म विद्यालयहरु नखुलेकोमा आम अभिभावक –ज्युहरु र विद्यार्थी भाइबहिनीहरु अत्तालिई–रहनु भएको हुन सक्छ । कृपाया नआत्तिनु होला । समय परिवर्तनशिल छ । सधैं भर यस्तै त नरहला । भनिन्छ बाँचे पो नाँच्न पाइन्छ । जीवन रहे पोे सबै कुरा देख्न र भोग्न पाइन्छ ।
आजका हरेक नानीबावुहरुको जीउ ज्यानको सुरक्षा आजको आवश्यकता हो । पढ्ने, लेख्ने र संसार चिन्ने समय दोस्रो प्राथमिकतामा राखेर बस्नु हामीलाई समयले उपलब्ध गराएको बाध्यता हो । यहाँलाई त राम्ररी थाहै पनि छ, विद्यालय खुले पनि तपाइँका नानी बावुहरु विद्यालयमा शिक्षकहरुको निगरानीमा रहने भनेकोे त त्यही केवल ६ घण्टा मात्रै त हो । बाँकी १८ घण्टा त यहाँहरुकै साथमा हुने गर्दछन् । अर्थात आफ्नै घरपरिवारहरु संगै रहने गर्दछन् । सिकाइको औपचारीक समय नमिलेको मात्रै त हो । यसका अलावा अनौपचारीक एवं अनियमित समय त हरेक सिकारुको २४ सैं घण्टा खुल्लै पो रहन्छ ।
सकिन्छ भने हरेक अभिभावकहरुले यो समयलाई बालबाालिकाहरुको भोलीको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने विविध विषयहरुसंग जोडेर लैजानु अति उपयोगी र सान्दर्भिक होला । सामान्यतया बोली , भाषा, संस्कार, संस्कृति, खाने, खेल्ने, उठ्ने , बस्ने एवं मानसम्मान र आदर सत्कार संग सम्बन्धित सम्पूर्ण संस्कारजन्य कुराहरु हरेक नानी वावुहरुले आफ्नै घर संसारबाट सिक्ने गर्दछन् । त्यसमा पनि अझ तपाइँ केही न केही पेशा व्यवसायमा त अवश्य संलग्न हुनुहोला । यसका साथसाथै दैनिक जीवनसंग सरोकार राख्ने जीवन र जगतका अति आवश्यकीय क्रियाकलाप–हरुमा त तपाइँ दैनिक संलग्न अवश्य नै हुनुहोला । त्यसो हो भने तपाइँ एक पटक ध्यानसँग नियालेर हेर्नुहोस् एवं सोच्नुहोस् । आजसम्म तपाइँको नानीबावु दैनिक जीवनका व्यवहारीक कार्यकलापहरुमा कत्तिको पोख्त छन् त ? जान्ने भएका छन् त ? छन्भने त राम्रै भयो । यदि छैनन् भने, सामान्यतया बेलैमा सुतेर बिहान सबेरै ब्युँझिन भन्नुहोस् । बिहानै ब्युँझिने वित्तिकै दिशापिशाप गर्न र साबुन पानीले हात धुन भन्नुहोस् । सकिन्छ ,चिया पकाएर खुवाउन सक्ने उमेको भइसकेको हो भने चिया पकाउन भन्नुहोस् । नास्ता खाएर होस् वा खाना खाएर होस् भाँडा माझ्न भन्नुहोस् । बिहान सबेरै ब्युँझाउँदा ब्युँझिएन भने ब्युँझाउँनुहोस् । आफ्नो उपस्थितीमा साबुनपानीले हात धुन भन्नुहोस् । चिया पकाउन र खाना पकाउन सकेन भने पकाउन सिकाउनुहोस् अनि नानी बावुले भाँडा माझ्ना सकेनन् भने पनि सिकाइ दिनुहोस् । यति मात्रै होइन राम्ररी नुहाउन सिकाउनुहोस्, लुगाकपडा धुन सिकाउनुहोस्, घरआँगन सरसफाइ गर्न सिकाउनुहोस्, कोठासोटा मिलाउन सिकाउनुहोस् र तपाइँ के सीपसँग सम्बन्धित वा व्यवसायसँग सम्बन्धित हुनुहुन्छ त्योसँग सम्बन्धित सके जति वा केही न केही त सीपहरु सिकाउनुहोस् ।
तपाइँले होसियारीपूर्वक थोरै समय सम्म भए पनि आफ्ना नानीवावुहरुका अगाडी यति बेला एक असल सल्लाहकार र परामर्शदाताको भूमिका खेल्नु भएछ भने त्यो समय तपाइँकै नानीबावुहरुका लागि अनमोल सावित हुने छ । जसले उनिहरुलाई जीवन जिउनका लागि सरल, सरस र अर्थपूर्ण बनाउन सहयोग गर्नेछ । प्रत्येक विद्यार्थीहरु र अभिभावक ज्युहरुले यो समयलाई केवल औपचारीक सिकाइका लागि मात्र बाधकका रुपमा हाम्रा अगाडी छ तर अनौपचारीक सिकाइका लागि भने यो समय बाधक नरहेको भन्ने बुझिदिनु पर्दछ ।
व्यक्ति दैनिक जीवनमा केही न केही सिकीरहन्छ । बिहान ओछ्यानबाट ब्युँझिएदेखि बेलुका पुनः ओछ्यानमा सुत्न नजाउन्जेलसम्म उसले आफूलाई केही न केही क्रियाकलापहरुमा सहभागि गराइरहेकै हुन्छ । कति कुराहरु सुन्छ भने कति कुराहरु गुन्छ । कति कुराहरु देख्छ भने कति कुराहरु भोग्छ । कति सफलता त कति असफलता आदि विविध कुराहरु उसले भोगिरहेको हुन्छ । सुनेको, गुनेको, देखेको, भोगेको, जागेको र भागेको आदि विभिन्न अवस्थाहरुमा व्यक्तिको सिकाइको क्रम चलिरहन्छ । यो मानव जीवनको अन्तिम समयसम्म निरन्तर चलिरहन्छ । रोकिदैन र चाहेर पनि रोक्न सकिदैन ।
(लेखक श्री घण्टेश्वर माध्यमिक विद्यालय कुँडीकोट जोरायलका शिक्षक हुनुहुन्छ ।)

Leave A Reply

Your email address will not be published.