सुदूरपश्चिममा धुमधामसँग ओल्के पर्व मनाइदै

258

भाद्र १, डोटी ।

आज भाद्र सङ्क्रान्ति, सुदूरपश्मिमा ओल्के पर्वका रुपमा धुमधामसँग मनाइँदैछ ।
“बिसुँ खानु मरुँलो भनि, ओल्के खानु बाँचुलो भनी” भन्ने मान्यताका साथ यो पर्व मनाईन्छ । सुदूरपश्चिमेली भाषामा ओलक भन्नाले सौगात, उपहार अर्थात कोसेली भन्ने बुझिन्छ ।
यस पर्वमा आफूभन्दा ठूलाबडा, मान्यजन वा जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप सागपात, फलफूल, मिठा–मिठा खानेकुरा बाँड्नुका साथै हातमा मेहन्दी लगाउने प्रचलन रहेको छ । विशेष गरि महिला र केटाकेटीहरुले मेहन्दी लगाउने (स्थानीय भाषामा भङिरी) लगाउने गर्दछन । मेहन्दी लगाएको हातमा आजको दिन घिउ-मह, घिउ-गुड, घिउ-चिनी राखेर खाने र हात चोख्याउने परम्परा पनि छ ।
आजको दिनलाई गर्मीयामको प्रकोप र महामारीबाट बचेर नवजीवनको प्राप्ति भएको खुशियालीमा ओल्के पर्व मनाईदै आएको जनविश्वास रहेको छ ।
सुदूरपश्चिममा ग्रिष्म यामलाई संकटकालको रुपमा र भदौ पछाडिको समयलाई नवजिवन प्राप्तिको रुपमा लिने गरिन्छ ।
आजका दिन श्रद्धालु भक्तजनहरु नजिकैको जलाशयमा गई स्नान गर्नुका साथै मन्दिर एवं देवस्थलमा ओल्को अर्थात हरिया सागपातहरु चढाउने गर्दछन् । यस पर्वमा महिलाहरु माईत जाने एवं अघिल्लो दिन घरपरिवारमा मिष्ठ भोजन लिने प्रचलन रहेको छ ।
त्यस्तै आजको दिन नै आउँदो असोज १ मा मनाइने सुदूरपश्चिमेली सँस्कृति बन्दुनी संक्रान्तिका लागि बन्दुनी (बुढी) पोल्ने ठाउँमा विशेष गरि सल्लाको बोट र नभए अन्य बोट विरुवा काटेर बन्दुनी गाड्ने गरिन्छ । जुन असोज १ गतेका दिन जलाउने गरिन्छ ।

Leave A Reply

Your email address will not be published.