शिखरका नगर प्रमुख बलायरले आफ्नै स्वकीयमाथि खुकुरी प्रहार गरेको आरोप
भाद्र १, डोटी ।
डोटीको शिखर नगरपालिका प्रमुख दीर्घ बहादुर बलायरले आफ्नै स्वकीय सचीव राजेश ठगुन्नामाथि खुकुरी प्रहार गरेको आरोप लागेको छ ।
आफ्नो टाउकोमा लागेको घाउ सहितको फोटो आफ्नो फेसबुक वालमा पोस्ट गर्दै ठगुन्नाले उक्त आरोप लगाएका हुन् ।
आफूमाथी आक्रमण भएपछि हिजो विहीबार मध्ये रातमा निरन्तर फेसबुक स्टाटस लेखेका ठगुन्नाले फेसबुकमै नगर प्रमुख बलायरमाथि गम्भीर चारित्रीक प्रश्न पनि उठाएका छन् । यद्यपि ती स्टाटसहरु उनको फेसबुक वालबाट हटाइएको छ । तर अन्यले स्क्रिनसर्ट पोस्ट गर्दै सामाजिक संजाल र संचारमाध्यमबाट भाइरल भैरहेको छ ।
ठगुन्नाले आफू उपचारका लागि काठमाण्डौ गइरहेको पनि लेखेका छन् ।
यस घटनाबारे बुझ्न खोज्दा नगर प्रमुख बलायरको मोबाइल नम्बर ९८५८४२००७१ स्विच अफ भएकोले सम्पर्क हुन सकेन भने स्वकीय सचीव ठगुन्नाको मोबाईल नम्बर ९८४९७०४४९३ मा पनि सम्पर्क हुन सकेको छैन ।
शिखर नगरपालिकाका सूचना अधिकारी शेर बहादुर कार्कीलाई बुझ्दा आफू जिल्ला बाहिर डडेल्धुरा रहेको र सामाजिक संजालबाटै घटना थाहा पाएको तर वास्तविकता बुझ्न नपाएको बताए ।
शिखर नगरपालिकाको बानेडुङ्ग्रीसैनमा आपसी विवाद भएको र हानाहानका क्रममा आफू बच्न नगर प्रमुख बलायरले प्रहार गरेको ढुङ्गा लागेर ठगुन्ना घाइते भएको बुझिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले नजर अनलाइनलाई बताए ।
यद्यपि अहिलेसम्म प्रहरीमा कुनै लिखित निवेदन नआएको पनि धमलाले बताए ।