‘गठबन्धन सरकार दलगत र व्यक्तिगत स्वार्थ केन्द्रित भयो’– इन्चार्ज भण्डारी
भाद्र २१, डोटी ।
नेकपा (एमाले) पोलिट ब्युरो सदस्य एवं डोटी जिल्ला इन्चार्ज लिला भण्डारीले वर्तमान ‘गठबन्धन सरकार दलगत र व्यक्तिगत स्वार्थ केन्द्रित’ भएको बताएकी छन् । पार्टी कामका शिलशिलामा डोटीका ९ वटै पालिकामा सञ्चालित बैठक, प्रशिक्षण तथा कार्ययोजना निर्माणका कार्यक्रम पश्चात नजर अनलाइनसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।
धनगढी उप महानगरपालिका–१८, कैलाली स्थायी घर भएकी नेतृ भण्डारीलाई एमालेको गत जेठ २३ गतेको निर्णय अनुसार फरक कार्यक्षेत्र डोटी जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको थियो ।
नयाँ कार्यक्षेत्रमा भौगोलिक सहित राजनीतिक अवस्था अध्ययन र पार्टीगत योजना निर्माण, संगठन विस्तार एवं सुदृढीकरणका क्रममा पहिलो चरणमा जिल्लाका सबै पालिकामा पुगेपछि बटुलेका अनुभवबारे एमाले नेतृ भण्डारीसँग गरिएको कुराकानी जस्ताको त्यस्तै –
तपाईं नेकपा एमालेको डोटी जिल्ला इन्चार्ज भएपछि पहिलो पटक जिल्लाका सबै पालिकामा भाद्र ८ देखि १८ सम्म कार्यक्रम गरेर फर्कनुभएको छ । नेकपा एमालेको सांगठनिक स्थिती कस्तो पाउनुभयो ?
सरसर्ती हेर्दा डोटी जिल्लामा नेकपा (एमाले) को सांगठनिक अवस्था निकै मजबुद रहेको पाइयो । जुन यसपटक पालिकास्तरका कार्यक्रमहरु सम्पन्न भए, त्यसमा कतिपय ठाउँको भौगोलिक अवस्था, केहि ठाउँमा वर्षातको समस्या भएकाले आंशिक समस्या भएता पनि पार्टीप्रतिको नेता, कार्यकर्ताको समर्पण भाव, सक्रियता र उत्साह हेर्दा निकै खुशी लाग्यो । पार्टीका कमिटीहरु पनि चुस्तदुरुस्तै रहेका देखिन्छन् । सबैजसो पालिकाहरुमा पार्टी संगठन शशक्त नै देखिन्छ । तर पनि केहि ठाउँमा पार्टीले अझै विशेष रणनीतिक योजना बनाएर लाग्नुपर्ने देखिन्छ ।
जिल्लामा एमालेप्रतिको आम बुझाइ कस्तो पाउनुभयो ?
अहिले पहिलो चरणमा हाम्रो पार्टीको प्रशिक्षण भेला, सुसंगठन गर्ने तथा आगामी योजना निर्माण गर्ने कार्यक्रम मात्रै थियो । जस अनुसार केहि महत्वपूर्ण निर्णय सहित योजनाहरु बनेका छन् । अहिलेलाई पार्टीको वडा तहसम्मका नेता कार्यकर्ताहरु मात्रै भेट्ने अवसर पाइयो । हाललाई जनस्तरसम्म जान नसकिएकोले अर्काे कार्यक्रम अन्तरगत आम जनता अर्थात मतदाता स्तरसम्म पुग्ने योजना बनाएर कार्यान्वयन गरेपछि मात्रै वास्तविक आम बुझाइको अवस्था थाहा पाउन सकिन्छ ।
छोटो अवधी भए पनि डोटीको समसामयिक राजनीतिक अवस्था, एमाले र अन्य राजनीतिक दलगत सम्बन्ध, समन्वय र समझदारीको अवस्थाबारे केहि अध्ययन गर्नुभयो ?
२०७९ सालको स्थानीय तहको निर्वाचनबाट जिल्लाका ९ पालिकामध्ये ७ पालिकामा नेपाली काँग्रेस, एउटामा हाम्रो पार्टी नेकपा एमाले र एउटामा नेकपा माओवादी केन्द्रले नेतृत्व लिएको छ । स्थानीय सरकारमा नेपाली काँग्रेसको बाहुल्यता देखिन्छ । तर काँग्रेसले अन्य पार्टीहरुको अस्तित्व पनि नस्विकारेको देखिन्छ । जुन राजनीतिक सँस्कार होइन । बाहुल्यताका आधारमा जनअपेक्षा अनुसार काम नभएर जनविरोधी गतिविधी, हेपाहा प्रवृत्ति, फजुल खर्च गर्ने गरेको गुनासा आम जनमानसबाट उठ्ने गरेको पाइयो । जसका कारण हाम्रो पार्टी नेकपा एमालेले कतिपय ठाउँमा शशक्त रुपमा ज्ञापन पत्र पेश गर्ने, विरोध सभा गर्ने, भण्डाफोर अभियान चलाउने जस्ता गतिविधी पनि सञ्चालन गरेको देखियो । निर्वाचित जनप्रतिनिधीहरुले आम जनताको भावना अनुसार योजना तथा बजेट व्यवस्था नगरेको, आफु अनुकुल योजना बनाएको जस्ता वडास्तरसम्म गुनासा प्रशस्तै पाइयो । जोरायल गाउँपालिकामा हाम्रो पार्टीबाट पनि त निर्वाचित जनप्रतिनिधीहरु छन्, काँग्रेस, माओवादीले जितेका पालिकाहरुमा कर्मचारीलाई बिना कुनै आधार केवल पूर्वाग्रही भएर कामबाट निष्काशन गर्ने गरेको पनि पाइयो । साझा जनप्रतिनिधी भैसकेपछि यस खालका अहंकार बोकेर जनविरोधी हर्कत गर्न पाइंदैन ।
संघीयताको मर्म अनुसार तीन तहको सरकारबिचको समन्वय, सहकार्य, सह–अस्थित्वको अवस्था कस्तो देखियो ?
सरसर्ती हेर्दा तीनै तहको सरकारको सम्बन्ध संघीय र प्रदेशको गठबन्धन जस्तो स्थानीय तहमा पनि देखिन्छ । स्थानीय तहमा काँग्रेसको प्रभुत्व भएकाले उसले जीतेको ठाउँमा गठबन्धनकै अन्य दलहरुलाई ‘भ्यालु’ नै दिएको पाइदैन । नीतिगत संवैधानिक स्वायत्त अधिकार सहितको व्यवस्था भएर पनि होला, स्थानीय तहहरुको आफ्नै कार्यशैली पनि छ । प्रदेश र संघको हकमा भने गठबन्धन सरकारबाट सत्ताको चरम दुरुपयोग भैरहेको छ । जनताको भावनाको कदर नै देखिदैन । यता स्थानीय तहहरुमा हेर्दा विकासका कामभन्दा पनि खानपिनकै नाममा अस्वभाविक बिलहरु पनि देखिएकाले आर्थिक मितव्ययीता देखिदैन । तसर्थ एमालेले यसबारे पनि अध्ययन गरेर सत्यतथ्य जनतामाझ बाहिर ल्याउनका लागि मसिनो अध्ययन गरिरहेको छ । समग्रमा तीन तहको सरकारबिचको समन्वय, सहकार्य र सहअस्थित्वको मर्म भनाइमा मात्रै सिमित देखिन्छ ।
नेकपा एमालेका जनसंगठनको सांगठनिक स्थिती, क्रियाशीलता कस्तो छ ?
नेकपा एमालेका विभिन्न २२/२३ वटा जनसंगठनहरु छन् । तीमध्ये डोटीमा सबै जनसंगठनका कमिटी गठन नभए पनि यहाँ भएका सबै संगठनको क्रियाशीलता, सांगठनिक स्थिती र भूमिका सह्रानीय छ । केहि जनसंगठनहरु पार्टीको स्प्रीडभन्दा अग्रपंक्तिमा छन् । जिल्लामा हुने अनियमितता, भ्रष्टाचार, व्यथितीको काममा अनेरास्ववियु अग्रपंक्तिमा रहेको सबैलाई जगजाहेर छ । राष्ट्रिय युवा संघ, किसान महासंघ, जनजाती महासंघ, अनेमसंघ लगाएत सबैको नाम यहाँ लिन नसके पनि आ–आफ्नो भूमिकामा सबै शशक्त लागेका छन् । जुन एमाले पार्टी जीवनका लागि पिल्लर पनि हुन् र जनसंगठनले महत्वपूर्ण योगदान गरिरहेको देखिन्छ ।
तपाईंको विचारमा डोटीको विकासका लागि Short term, Mid term र Long Term को योजना के–के हुनुपर्छ ?
विकासको पहिलो आधार सडक बाटो हो । डोटीका सबै पालिकामा बाटो त पुगेको छ । तर पनि सहज रुपमा सूचारु हुन सकेको छैन । पालिका जोड्ने सडकहरुको स्तरोन्नतीसँगै सबै वडासम्म पनि सडकको सहज पहुँच विस्तार गर्नु जरुरी छ । पर्यावरणीय अवस्था हेरेर सकिन्छ भने टोलसम्म सडक विस्तार गर्नुपर्छ । अर्काे महत्वपूर्ण कुरा धेरैजसो ठाउँमा विद्युत विस्तार नभएकाले समस्या छ । केहि ठाउँमा सोलारले वैकल्पिक काम गरिरहेको छ । तर विज्ञान प्रविधीको युगमा जनता विद्युतविहीन÷उज्यालोविहीन राख्नुहुँदैन । विकास गाउँतिर, जनता सहरतिर भनेजस्तै पनि छ । शिक्षा, स्वास्थ, लगाएतका सुविधाको लागि गाउँमै र पहाडमै पूर्वाधार निर्माण गरी प्रविधीसहितका सुविधा विस्तार गर्न राज्यले ढिलो नगरी रणनीतिक योजना बनाएर कार्यान्वयन गर्नुपर्छ । गाउँमा अधिकांश बस्ती र जग्गाजमीन बाँझो बन्जर देखियो । तराईतिर र उत्पादन हुने ठाउँहरु बरु घरघडेरीका नाममा भरिएर उत्पादन घट्दो क्रममा छ । त्यसैले गाउँ फर्क अभियान सञ्चालन गर्न विभिन्न स्किमहरु ल्याएर गाउँ र पहाडतिर आकर्षण गारउने, बाटो, सिंचाई, बिउँबिजन, उन्नत प्रविधी, सिप प्रदान गरी उत्पादन बढाउने र उत्पादको बजारीकरणका प्रभावकारी योजना बनाउनु अपरिहार्य छ ।
तत्कालिन योजना: पहिलो काम भनेको सबै जनतालाई शुद्ध खानेपानी चाहियो । कृषि कर्ममा जोडिएका किसानहरुको बालीनाली जोगाउन जंगली जनावर नियन्त्रणमा राज्यको आँखा पर्नु जरुरी छ, छाडा पशुचौपाया व्यवस्थापन गरी किसानका खेतीबाली जोगाउने र पशु अधिकार पनि सुरक्षित गर्नु जरुरी छ ।
मध्यकालिन योजना : जतिसक्दो छिटो बाँझो तर खेतीयोग्य भू–उपयोग र उत्पादनका लागि कृषिमा आत्मनिर्भर सँगै व्यवसायिक बनाउन राज्यले योजना बनाएर काम गर्नुपर्छ । ठाउँ अनुसार माटो परीक्षण गरी नगदेबाली, घाँसपात रोपेर उत्पादन बढाउनुपर्छ । सडकहरु चाहिँ अव्यवस्थित र दीगो सोचका आधारमा बनिरहेको देखिंदैन । दीर्घकालिन सोच राखेर सुविधा विस्तारसँगै सम्भावित पछि हुने खतराबारे सतर्कता अपनाउनुपर्छ । यात्राको जोखिम हुने, खेतबारी, बस्ती बाढी पहिरोको जोखिम हुनसक्ने सडकबारे समयमै सोच्नु आवश्इक छ । जिल्लाका केहि साना–साना नदि खोलाहरुबाट लघु जलविद्युत पनि उत्पादन गर्न सकिने देखिन्छ । जसले विद्युतीकरण सँगै रोजगारीको पनि वातावरण सिर्जना हुन्छ ।
दीर्घकालिन योजना : मध्यपहाडी लोकमार्ग, खुटिया–दिपायल फास्ट ट्रयाक, पश्चिम सेती परियोजना जस्ता राष्ट्रिय गौरवका योजना अगाडी बढाउन जरुरी छ । रोजगारीका लागि देश बाहिर जानुपर्ने बाध्यताको अन्त्यका लागि रोजगारीका अवसर सिर्जना गर्नुपर्छ । जसका लागि विभिन्न उद्यम विकास गरी उद्यमशीलतामा जोड दिंदै आर्थिक आय आर्जनका काममा जनतालाई जोड्नु जरुरी छ । ग्रामीण भेगका स्वास्थ्य संस्थाको सेवा सुविधा बिस्तार गरी आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी हुनुपर्छ । हरेक वडासम्म एम्बुलेन्स पहुँच विस्तार गरिनुपर्दछ ।
त्यस्तै शिक्षा क्षेत्रमा पनि बालबालिकाहरुलाई उचित शैक्षिक वातावरणको आवश्यकता छ । गुणस्तरीय, व्यवहारिक र जीवन उपयोगी शिक्षामा राज्यले विशेष योजना बनाउनुपर्ने देखिन्छ । डोटी जस्तो पहाडी जिल्लामा स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि लगाएत क्षेत्रमा विशेष प्राथमिकता राखेर काम गर्नुपर्छ ।
देशको वर्तमान समसामयिक राजनीतिलाई कसरी लिनुभएको छ ?
वर्तमान राजनीतिक अवस्थाले देश अस्थिरतातिर धकेलिँदैछ । जनताका आधारभूत आवश्यकता पूरा गर्न र राज्यको विकासका लागि राजनीतिक स्थायित्वका सबैले लागि सोच्नुपर्छ । हुन त बहुदलीय प्रतिष्पर्धा लोकतन्त्रको सुन्दर पक्ष हो । तर पनि च्याउँ फुटे झै टुक्रे पार्टीहरु हुने, जसले देशलाई सही दिशामा अगाडी बढ्न सक्ने अवस्था आएन । तसर्थ देशमा एउटा शक्ति सत्तापक्ष हुने र अर्काे शशक्त प्रतिपक्षी हुने स्थिती भैदिए राम्रो हुन्थ्यो भन्ने लाग्छ ।
अहिले त के भैदियो भने सरकारमा रहेका सत्ता गठबन्धनका दलहरु जनता र राष्टका हितका लागि नभएर व्यक्ति, दलको स्वार्थकेन्द्रित भएर बाँडिचुँडी खानका लागि उद्दत रहेको देखिन्छ । यसको निकासका लागि राष्ट्रिय शक्तिबिच एकताको आवश्यकता छ । आम जनता र मतदाताहरुले पनि एउटा पार्टीलाई स्पष्ट बहुमत दिएर अहिलेको जस्तो राजनीतिक गतिरोधको अन्त्य गर्नुपर्छ । जबकि जनमत लिएर जित्ने पक्षले कम्तिमा पनि ५ वर्ष ढुक्क भएर काम गर्ने वातावरण बनोस् ।
डोटीमा २०७४ मा ५ स्थानीय तह जितेको एमालेले २०७९ मा एउटा मात्रै स्थानीय तहमा चित्त बुझाउनुपर्ने स्थिती बन्यो । प्रदेशमा पनि एउटा मात्रै निर्वाचन क्षेत्र जित्यो र संघमा पनि निर्वाचन जित्न सकेन । आगामी निर्वाचन २०८४ को लागि एमालेले कस्तो रणनीति लिएको छ ?
हाम्रो पार्टी अहिलेदेखि नै मिसन २०८४ मा केन्द्रित भएर लागेको छ । पार्टीको सांगठनिक तयारी, आम जनता र मतदाताको माझ जाने, जनपक्षीय काममा खट्ने, गाउँ ठाउँका समस्या, जनता दुख पीडामा साक्षात्कार गर्दै समाधानका लागि काम गर्नेमा एमाले देशै पहिलो पार्टी नै हो । एमालेले २०८० लाई अधिवेशनको वर्षका रुपमा मनाउन लागेको जगजाहेरै छ । वि.सं. २००६ बैशाख १० मा पार्टी स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा प्रदेश, जिल्ला, पालिका, वडादेखि टोलसम्म सबै अधिवेशन एकै वर्ष गर्ने गरी यो वर्षलाई अधिवेशन वर्षका रुपमा लिईएको हो । जस अनुसार सुदूरपश्चिम प्रदेशको अधिवेशन आगामी असोज २१ र २२ को लागि तय भैसकेको छ, डोटी जिल्लाको आगामी मंसिर २२ र २३ तोकिएको छ, पालिकाले पनि मितिहरु तय गरिसकेका छन् भने वडाको, टोलको, जनसंगठनको अधिवेशन पनि २०८० चैत्र मसान्तसम्म अधिवेशन सम्पन्न गरिसक्ने गरी योजना बनिसकेका छन् । त्यसपछि फेरी अर्काे योजना बनाएर २०८४ को निर्वाचन लक्ष्यित गतिविधी घनिभुत ढङ्गले डोटी एमालेले अघि बढाउनेछ ।
के २०८४ मा निर्वाचन नतिजा डोटी एमालेको पक्षमा आउला त ?
एमाले मात्रै यस्तो पार्टी हो, जसले राष्ट्र र जनतालाई केन्द्र मानेर काम गर्दछ । इतिहास हेर्दा प्राविधिक कारणबस सिट संख्यामा केहि तलमाथि भए पनि अहिलेसम्म हाम्रो पार्टी एमालेले गरेका कामहरुबाट २०७९ को प्रतिनिधी सभाको निर्वाचनमा समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत सहित सर्वाधिक लोकप्रिय मत पाएको कुरा विदितै छ । जसले एमाले देशभरमै जनताले रुचाएको पार्टी हो भन्ने कुरा प्रष्ट छ । डोटीमा पनि २०७९ मा एमालेले जित्नुपर्ने सांगठनिक अवस्था देखिन्छ । तर कहाँनेर, के कुरामा, व्यवस्थापन र प्राविधिक त्रुटी भयो र नतिजा अपेक्षाकृत आउन नसकेको मात्रै हो । गठबन्धन दलहरुसँग एमाले एक्लै निर्वाचन लड्दा आएको नतिजाले एमालेको जीत नै देखाएको छ । किनकी एक्लाएक्लै प्रतिष्पर्धा भएको भए एमालेको जित सुनिश्चित नै थियो । एमाले राष्ट्रियता, जनपक्षीय विकास र जनजीविकाका सवालमा काम गर्ने एक मात्रै पार्टी भएको हुँदा २०८४ मा सबै तहका सरकार एमालेले जित्नेमा आफु विश्वस्त छु र यसमा आजैदेखि लाग्न सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक सबैमा आग्रह पनि गर्दछु ।