एमाले सुदूरपश्चिम अधिवेशनका लागि आज प्रतिनिधी छानिंदै, डोटीबाट ४१ जना छानिने

410

असोज १५, डोटी ।
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशनका लागि सोमबार प्रदेशभरका ९ जिल्लाका ८८ वटै स्थानीय तहमा एकैपटक प्रतिनिधी छनौट गरिंदैछ ।
एमाले प्रदेश अधिवेशन व्यवस्थापन कमिटीको गत भदौ ३० गतेको बैठकको निर्णय अनुसार असोज ५ गते जारी सर्कुलर बमोजिम सबै ठाउँमा एकै दिन प्रतिनिधी छनौट गर्न लागिएको हो ।
पार्टी केन्द्रबाट २०८० सालको नविकरण प्रमाणित भएका पार्टी सदस्यता विवरणका आधारमा सम्बन्धीत पालिकाको कूल पार्टी सदस्य संख्या मध्ये १०० जना बराबर १ जना र बाँकी रहेको सदस्य संख्या ५० प्रतिशतभन्दा माथि भए थप १ जना प्रतिनिधी छनौट गर्न सकिने मापदण्ड रहेको छ । प्रतिनिधी छनौट गर्दा दलित समुदायको सदस्यता संख्या घटाएर मात्रै गणना गरिने मापदण्ड छ ।
त्यस्तै दलित समुदायको हकमा भने प्रदेश निर्वाचन क्षेत्रलाई इकाइ बनाएर ७५ जना पार्टी सदस्य संख्या बराबर १ जना प्रतिनिधी छनौट गरिंदैछ ।
प्रदेश अधिवेशन प्रतिनिधी बन्न कम्तिमा ७ वर्ष पार्टी सदस्य भई काम गरिसकेको हुनुपर्नेछ भने दलित, महिला, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाती र अपाङ्गता भएकाको हकमा कम्तिमा ५ वर्ष पार्टी सदस्य भइ काम गरेको हुनुपर्नेछ ।
अन्य पार्टीबाट वा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याई पार्टी प्रवेश गरेकाको हकमा भने सदस्यता अवधी लागु गरिनेछैन ।
प्रतिनिधी छनौटका लागि समावेशितालाई ध्यानमा राखी ३ जना प्रतिनिधी भए १ महिला, ५ जना प्रतिनिधी भए २ महिला, ८ जना प्रतिनिधी भए ३ महिला, ११ जना प्रतिनिधी भए ४ महिला, १४ जना भएमा ५ महिलाको सुनिश्चितता गर्नुपर्ने मापदण्ड रहेको छ ।

जिल्लाबाट छानिने कूल प्रतिनिधीको १० प्रतिशत युवाहरु छनौट गर्नुपर्नेछ ।
त्यस्तै मजदुर इलाका कमिटीबाट ५० जना पार्टी सदस्य बराबर १ जना र शेष ५० प्रतिशतभन्दा बढी भएमा थप १ जना प्रतिनिधी छनौट गर्न सकिनेछ ।
बुद्धिजिवी इलाका कमिटीबाट २५ जना पार्टी सदस्य बराबर १ जना र शेष ५० प्रतिशतभन्दा बढी भएमा थप १ जना प्रतिनिधी छनौट गर्न सकिनेछ ।
त्यसैगरी जनसंगठनको हकमा जनसंगठन समन्वय सम्बन्धी निर्देशिका २०७८ को अनुसूचि १ मा रहेका जनसंगठनबाट ५ जना र अनुसूचि २ मा रहेका जनसंगठनबाट ३ जना प्रतिनिधी प्रदेश कमिटीबाट छनौट गरिदैछ ।
अनुसूचि १ मा अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय युवा संघ नेपाल, नेपाल उत्पिडित जातीय मुक्ति समाज, लोकतान्त्रिक आदिबासी जनजाती महासंघ, पेशागत महासंघ नेपाल, नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ र नेपाल खेलकुद महासंघ रहेका छन् ।
यस्तै अनुसूचि २ मा प्रेस चौतारी नेपाल, राष्ट्रिय जनसाँस्कृतिक महासंघ, नेपाल बुद्धिजिवी परिषद, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल भूमि अधिकार तथा श्रमिक संगठन, नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन, प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन, लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल, प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियशन नेपाल, मानव अधिकार तथा सामाजिक न्याय मञ्च, नेपाल मुश्लिम इतेहाद संगठन र रिटर्नी फेडरेशन नेपाल रहेका छन् ।

डोटीबाट ४१ जना प्रतिनिधी छानिंदै

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश अधिवेशन व्यवस्थापन कमिटीले बनाएको प्रतिनिधी छनौट मापदण्ड अनुसार डोटीबाट ४१ जना प्रदेश अधिवेशन प्रतिनिधी छानिने भएका छन् । डोटीमा कूल पार्टी सदस्य ३,६५७ जना प्रमाणित छन् । जसमा ५३९ दलित सदस्य रहेका छन् भने ३,११८ जना अन्य सदस्य रहेका छन् ।
जिल्लाका ९ वटा पालिकाहरुबाट ३४ जना र प्रदेश निर्वाचन क्षेत्रका २ वटा दलित क्लष्टरबाट ७ जना गरी ४१ जना प्रतिनिधी छनौट हुनेछन् ।
सबैभन्दा बढी आदर्श गाउँपालिकाबाट ४ खुल्ला र २ महिला गरी ६ जना, जोरायल गाउँपालिकाबाट ३ खुल्ला र २ महिला गरी ५ जना, बोगटान फुडसिल गाउँपालिकाबाट ३ खुल्ला र २ महिला गरी ५ जना, दिपायल सिलगढी नगरपालिकाबाट ३ खुल्ला र १ महिला गरी ४ जना र सायल गाउँपालिकाबाट ३ खुल्ला र १ महिला गरी ४ जना प्रतिनिधी छानिन लागेको एमाले डोटीले जनाएको छ ।
त्यस्तै पुर्विचौकी गाउँपालिकाबाट २ खुल्ला र १ महिला गरी ३ जना, शिखर नगरपालिकाबाट २ खुल्ला र १ महिला गरी ३ जना, बडिकेदार गाउँपालिकाबाट २ खुल्ला र १ महिला गरी ३ जना र के.आई.सिंह गाउँपालिकाबाट खुल्ला १ जना प्रतिनिधी छनौट हुँदैछन् ।
त्यस्तै दलित क्लष्टर अन्तरगत प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा रहेका सदस्य संख्या ३०९ का आधारमा ३ पुरुष र १ महिला गरी ४ जना तथा प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा रहेका सदस्य संख्या २२९ का आधारमा २ पुरुष र १ महिला गरी ३ जना प्रतिनिधी छानिदैछन् ।
सम्बन्धित पालिकाको केन्द्रमा पालिकाका सबै संगठित सदस्यहरु जम्मा गरी जिल्लाका ९ वटै पालिकाबाट प्रतिनिधी छनौटको तयारी गरिएको छ भने दलित क्लष्टरको लागि प्रदेश निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ दुवैको लागि राजपुरस्थित सेती सभाहलमा जम्मा भएर प्रतिनिधी छनौट गरिन लागेको नेकपा एमाले डोटीका सचिव शेर बहादुर मल्लले जानकारी दिए ।
सकभर सर्वसम्मत प्रतिनिधी छनौटका लागि प्रयास रहने र कोटाभन्दा बढी आकांक्षी भई सहमती हुन नसके निर्वाचन प्रक्रियाबाट प्रतिनिधी चयन गर्ने एमालेको तयारी छ ।
प्रतिनिधी छनौट प्रक्रियाका लागि प्रत्येक पालिकाहरुमा ३ जना निर्वाचन कर्मचारी खटाईएको जनाईएको छ भने दुवै दलित क्लष्टरको लागि पनि ३/३ जनाकर्मचारी खटाईएको जनाईएको छ ।

असोज २१ र २२ गते धनगढीको सौंराई बैंकटमा आयोजना हुने एमाले सुदूरपश्चिम प्रथम प्रदेश अधिवेशनलाई एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम रहेको छ ।

 

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.