डोटीको आदर्शमा भारतबाट आएका कोरोना संक्रमित बुबाबाट छोरामा पनि संक्रमण
भाद्र १५, डोटी ।
डोटीको आदर्श गाउँपालिका वडा नं. ३ मा भारतबाट आएका कोरोना संक्रमित एक पुरुषबाट उनका १४ वर्षीया छोरामा पनि संक्रमण देखिएको छ ।
जिल्ला अस्पताल डोटीको पिसिआर प्रयोगशालामा सोमबार गरिएको परीक्षणका क्रममा उनका छोरामा पनि संक्रमण देखिएको हो । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाईएको छ । सोमबार नै सोही वडाका ५२ वर्षीया कोरोना संक्रमित १ पुरुषको फलोअप रिपोर्ट दोश्रो पटक पनि पोजेटिभ नै देखिएको छ ।
यहि भाद्र ३ गते भारतबाट पुगेका पुरुषको पिसिआर परीक्षणका क्रममा यहि भाद्र ८ गते कोरोना संक्रमण पुष्टी भएको थियो । उनि गाउँपालिकाले व्यवस्थापन गरेको आईसोलेशनमा छन् । आईसोलेशनमा रहेका बुबालाई खाना पुर्याउन जाने गरेका छोरामा पनि संक्रमण देखिएको आदर्श गाउँपालिका स्वास्थ्य शाखा प्रमूख बम बहादुर खड्काले जानकारी दिए ।
यसलाई समुदायमा कोरोना संक्रमण फैलिएको भन्न मिल्छ कि भन्ने प्रश्नको जवाफमा स्वास्थ्य कार्यालय डोटीका प्रमूख रमेश मलासीले समुदायमा फैलिएको नभएर संक्रमणको दोश्रो चरणका रुपमा लिईएको बताए ।
यस पूर्व पनि आदर्श गाउँपालिकामा क्वारेन्टिनका मानिसहरुले किनमेल गर्ने एक पसले र एक अर्का व्यक्तिमा गरी २ जना स्थानीयमा कोरोना संक्रमण देखा परेको थियो ।
यस्तै डोटीमा यस पूर्व शिखर नगरपालिकामा भारतबाट आएका कोरोना संक्रमितबाट ३ जना परिवारका सदस्यमा र राष्ट्रिय वाणिज्य बैंक दिपायलका एक कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको थियो ।
आदर्श गाउँपालिकामा हालसम्म २ सय १ जना मानिसहरुमा कोरोनाको संक्रमण देखा परिसकेकोमा अहिले २० जना सक्रिय रहेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमूख खड्काले जानकारी दिए ।