हेलो सिएममा विद्युतीय प्रविधिबाट गुनासो गर्ने तरिका बारे डोटीमा अन्तरक्रिया
किरण धामी/कात्तिक १७, डोटी ।
डोटीको सिलगढीमा प्रदेश र स्थानीय सरकारमा जवाफदेहिता सुदृढीकरणको लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ । शुक्रबार सिलगढी स्थित शैलेश्वरी गेस्ट हाउसमा नागरिक समाज संलग्नता मार्फत प्रदेश र स्थानीय सरकारमा जवाफदेहिता सुदृढीकरणको लागि जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
युएनडिपीको सहयोगमा अवार्ड नेपाल बझाङको आयोजनामा सम्पन्न कार्यक्रममा विद्युतीय प्रविधिको प्रयोग गरी सरकारलाई आफ्नो गुनासो राखी समस्याको समाधान खोज्न सकिने बारेमा छलफल गरिएको थियो । स्थानीय सरकार र प्रदेश सरकार बारेमा गुनासो तथा सुझाव वेबसाइट र मोबाइल एप्लिकेसन मार्फत दिन सकिने आयोजकको भनाइ थियो ।
सुदूरपश्चिम प्रदेश सरकारले हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली) वेबसाइट www.hellocm.sudurpashchim.gov.np र मोबाइल एप्लिकेसन हेलो सिएम सुदूरपश्चिम नामक एप्स सञ्चालनमा ल्याएर आफ्ना गुनासा तथा सुझाव टिपाउन मिल्ने व्यवस्था गरेको अवार्ड नेपालका प्रतिनिधि एवं कार्यक्रमका सहजकर्ता झलक पालीले बताए । उनले कार्यक्रमका सहभागीलाई गुनासो राख्ने विभिन्न प्रक्रिया बारे जानकारी गराउदै सहभागीबाट आएको सुझावमध्ये डोटीमा इन्जिनियरिङ कलेजको अनुमती प्राप्त भएता पनि सञ्चालनमा ढिलाइ भएको बारे गुनासो वेबसाइट मार्फत टिपाएर प्रविधि प्रयोग गर्न सिकाएको बताए ।
उक्त कार्यक्रममा जनप्रतिनिधि, गैरसरकारी संघसँस्था, पत्रकार, बाल क्लबका विद्यार्थी लगायतका ५२ जनाको सहभागी रहेको थियो ।