मध्ये पहाडी लोकमार्ग “यात्रा” को तयारीमा एमाले उपमहासचिव विष्णु रिमालको टोली डोटीमा

373

कार्तिक १७, डोटी ।
नेकपा (एमाले)ले सञ्चालन गर्ने मध्य पहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) अभियानको लागि मार्ग पहिचान गर्ने क्रममा एमाले उप-महासचिव विष्णु रिमालको टोली शुक्रबार डोटी पुगेको छ ।
“सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय” भन्ने नाराका साथ आगामी मंसिरमा सञ्चालन हुने अभियानको योजना बनाउने उद्देश्यले बैतडी, डडेल्धुरा हुदै डोटी पुगेको उपमहासचिव रिमालले बताए । नेपाल-भारतको पश्चिमी सिमाना बैतडीको झुलाघाटदेखि पूर्वी सिमाना पाँचथरको चियो भन्ज्याङसम्म सञ्चालन हुने “यात्रा” अभियानले २६ वटा जिल्ला छुने रिमालले बताए ।
“स्थानीय अवस्था अनुसार कहिलेदेखि अभियान सुरु गर्न उपयुक्त हुन्छ, कुन बाटो जानु पर्छ भन्ने सम्भावना अध्ययन गर्दैछौं” उप-महासचिव रिमालले भने-“अभियानका क्रममा टोली बस्ने ठाउँ, सभा सञ्चालन तथा अवलोकन गर्ने ठाउँ आदिको विषयमा जिल्लाका नेता कार्यकर्ताहरुसंग छलफल गरेका छौं ।”
अभियान अन्तर्गत जनतासंग टुटेको सम्बन्ध जोड्ने र पार्टी केन्द्रको नेतृत्वलाई स्थानीय तहमा चिनाउने उनले बताए ।
“पार्टी स्थापना भएको ७५ वर्ष पुरा भएको छ” रिमालले भने- “यसबिचमा पार्टीले गरेका कामहरु जनतामाझ राख्नेछौं ।”
टोलीले जिल्ला सदरमुकाममा उपलब्ध नेता कार्यकर्ताहरुसंग आवश्यक छलफल गरेको एमाले डोटीका अध्यक्ष चक्र मल्लले जानकारी दिए ।

टोली आजै अछाम हुँदै दैलेखको राकमसम्मका लागि प्रस्थान गरेको एमाले डोटीका सचिव शेर बहादुर मल्लले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.