चितवनमा सशस्त्रका तीन बिओपी थपिँदै

469

भाद्र १६, चितवन ।
चितवन जिल्लामा भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि तीन बोर्डर आउट पोष्ट (बिओपी) थपिने भएको छ । सरकारले देशभर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बिओपी थप गर्ने निर्णय गरेसँगै चितवनमा पनि तीन वटा थप गर्न लागिएको हो ।
माडी नगरपालिका–९ को कान्छी बगई, वडा नं ६ को स्याउलीबास र वडा नं १ को भगेटीमा पोष्ट स्थापना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले सो क्षेत्रको सोमबार स्थलगत निरीक्षण समेत गर्नुभएको छ ।
अहिले चितवनको माडी नगरपालिकामा तीन वटा मात्रै बिओपी पोष्ट छन् । बाँदरझुला, छरछरे र बाल्मिकी आश्रममा सशस्त्रका अस्थायी पोष्ट रहेको भट्टराईले बताउनुभयो ।
एक महिनाभित्र नयाँ पोष्ट स्थापना हुने गरी काम शुरु गरिएको उहाँले जानकारी दिनुभयो । चितवन जिल्लाको भारतसँग ८८ किलोमिटर खुला सीमा जोडिएको छ ।
सशस्त्र प्रहरी बल १७ नं गणका प्रहरी उपरीक्षक दीपककुमार थापाले नयाँ पोष्ट १५ किलोमिटरको दूरीमा स्थापना हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले तीनवटा पोष्ट ३० किलोमिटरको दूरीमा छन्, पहिलो चरणमा तीनवटा पोष्ट थपिएपछि सुरक्षा व्यवस्था मजबुत बनाउन थप मद्दत पुग्नेछ ।’ उहाँले एउटा पोष्टमा ३५ जनाको स्वीकृत दरबन्दी रहेको जानकारी दिनुभयो । माडीमा भारतसँगको सिमाना जोडिएको अधिकांश निकुञ्ज क्षेत्रपर्छ ।

Leave A Reply

Your email address will not be published.