को हुन् गण्डकी प्रदेश प्रमुखमा सिफारिस डिल्लीराज भट्ट ?
फाल्गुन २८, डोटी ।
सरकारले सुदूरपश्चिमका पूराना कम्युनिस्ट नेता डिल्लीराज भट्टलाई गण्डकी प्रदेशको प्रदेश प्रमुखका लागी सिफारिस गर्ने निर्णय गरेको छ । २००७ साल भाद्र १४ गते बुबा तिलख भट्ट र आमा मधु भट्टबाट जन्मिएका भट्ट जोरायल गाउँपालिकामा जन्मिएका थिए ।
सोमबार बसेको मन्त्री परिषद्को बैठकले गण्डकी प्रदेश प्रमुखमा सिफारिस गरेका नेता भट्ट डोटी जिल्लाका कम्युनिस्ट आन्दोलनका पुराना नेता हुन ।
डोटी र कैलाली सहित सुदूरपश्चिमकै अधिकांश कम्युनिस्ट नेता तथा कार्यकर्ताको राजनीतिक गुरु समेत रहेका भट्ट हाल धनगढी उप–महानगरपालिका ४ बसोबास गर्दै आएका छन् । २०२१ सालबाट नेपाली काँग्रेसको राजनैतिक यात्रा प्रवेश गरेका भट्टले २०२८ वैशाख ३ गते नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी मनमोहन समूहको सदस्यता लिएर कम्युनिस्ट पार्टीको औपचारिक यात्रा प्रारम्भ गरेका थिए ।
काँग्रेसमा सक्रिय भएका कारण २०२६ साल माघ १६ गते सहिद दिवसको दिन तत्कालीन सरकारले गिरफ्तार गरेर उनलाई बन्दी बनाएको थियो । जेलबाट रिहा भए लगत्तै कम्युनिस्ट पार्टीसँग नजिक रहेका भट्ट २०२८ मा कम्युनिस्ट पार्टीमा आन्तरिक रूपमा सक्रिय भएर लागेका थिए ।
शुरूवातमा प्रारम्भिक कमिटी हुँदै २०२८ मा कैलाली जिल्ला संयोजक बनेका भट्ट २०४७ सालमा एमाले डोटी जिल्ला संयोजक हुँदै २०५६ सालमा जिल्ला सचिव रहनु भएको थियो । महासचिव प्रणालीमा जिल्ला सचीव प्रमुख नेतृत्वको पद रहेकोे थियो । २०५६ सालमा डोटी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका भट्ट २०७८ सालमा राष्ट्रिय सभा सदस्यका लागी उम्मेदवार बनेका थिए ।
हाल नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद् सदस्य रहेका भट्ट सादा जीवनशैली र कम्युनिस्ट आचरण भएको नेताका रूपमा चिनिन्छन् ।
कैलालीमा रहेको पञ्चोदय माध्यमिक विद्यालयबाट माध्यमिक तह सम्मको अध्ययन गरेका भट्ट पछि सोही विद्यालयमा शिक्षक भएर काम गरेका थिए । शिक्षक हुँदा पनि तत्कालीन राज्य व्यवस्थाको विरोध गरेको भन्दै २०३० सालमा भट्टलाई विद्यालयबाट निष्कासित गरिएको थियो । शिक्षकबाट निष्कासित भएका उनै भट्टलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेश प्रमुखमा नियुक्त गर्नका लागी राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
विद्यालयबाट निष्कासित भएसँगै पूर्णकालीन राजनीतिक कार्यकर्ता भएर लागेका भट्ट कम्युनिस्ट बिचार र आफ्नो सपना जनताका बिचमा बाँड्दै विशेषत: डोटी र कैलालीका गाउँबस्तीहरुमा पुग्ने गरेका थिए । दुई पटक उम्मेदवार बन्ने अवसर प्राप्त गरे पनि पराजित हुन पुगेका भट्ट कुनै पनि लाभको पद प्राप्त नगरेका कम्युनिस्ट नेता हुन ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त हुने पदहरूमा नियुक्तिको लागि मधेसको लागि सुमित्रा भण्डारी, गण्डकीको लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमको लागि नजिर मियाँ मनोनयनको लागि सिफारिस भएको सरकारकी प्रवक्ता रेखा शर्माले सार्वजनिक गरेकी छन् । कम्युनिस्ट प्रति घृणा दुर्व्यवहार हुने समयमा पार्टीको सङ्गठन बिस्तार गर्नका लागी अनेकौँ दुर्व्यवहार खेपेर पनि सक्रियताका साथ लागेका अथक नेता हुन । पार्टीको आन्तरिक प्रशिक्षणमा पनि नेता भट्टलाई कुशल प्रशिक्षकका रूपमा चिनिन्छ ।