मेयर साप, अध्यक्ष ज्यू भन्दै झोला बोकेर नजिकिनेबाट टाढै बसौं–जिसस प्रमूख सिंह
बैशाख ३०, डोटी ।
जिल्ला समन्वय समिति डोटीका प्रमूख लक्ष्मण बहादुर सिंहले ‘मेयर साप, अध्यक्ष ज्यू, भन्दै झोला बोकेर वरीपरी घुम्नेहरुबाट टाढा बस्नुपर्ने बताएका छन् ।
कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीले संयुक्त रुपमा आयोजना गरेको प्रादेशिक कृषि विकास रणनीतिबारे जिल्ला समन्वय समितिको बैठकमा बोल्दै यस्तो धारणा राखेका हुन् ।
उनले भने –‘झोला बोकेर नजिकिने, मेयर साप, अध्यक्ष ज्यू आराम हुनुहुन्छ भन्दै नजिकिनेहरुलाई टाढाको नजरले हेरौंं, बरु दुर दराजसम्मका मानिसहरुलाई सहयोग गरौं, स्थानीय तहको श्रोत सँगै अन्य संघसँस्थाको सहयोग लगानी गरौं, रिजल्ट रामै्र आउँछ ।’
स्थानीय तह लगाएत प्राय जसो नेतृत्वको वरीपरी घुम्नेहरुले विभिन्न योजना, अनुदान लगाएतका लाभांश लिने तर उपलब्धी नदेखिने विषयलाई इंकित गरी उनले यस्तो बताएका हुन् ।
स्थानीय तहहरुमा पर्याप्त बजेट नहुने भए पनि सोच राम्रो राखेमा सफल भइने र हरेक स्थानीय तहले विभिन्न उत्पादनमा भन्दा पनि विशेष पहिचान सहित एउटा उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा राखेका छन् ।
यस्तै शिखर नगरपालिकाका नगर प्रमूख दीर्घ बहादुर बलायरले राज्यको नीति र उद्धेश्य अनुसार स्थानीय स्तरसम्म प्रभावकारी मुभमेन्ट (कार्यक्रम) हरु सञ्चालन हुन नसकेको बताए ।
देखिने गरी काम नहुने तर कनिका छरे जस्तै गरी बजेट तथा योजना वितरण हुने प्रसङ्गमा बलायरले परीश्रमी उद्यमी सिमित किसानलाई समातेर काम गरे उपलब्धी त राम्रो हुने तर सबैलाई समेट्न र गाली नखाने वातावरणका लागि पनि सानातिना ठाउँमा बजेट लगानी गर्नैपर्ने बाध्यता स्थानीय सरकारलाई रहेको तर्क गरे ।
यसैगरी बैठकमा बोल्दै पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले यति बेला स्थानीय तहहरुले नीति तथा कार्यक्रम ल्याउने र बजेट प्लानिङ् गर्न लागेकाले जिल्ला समन्वय समितिको समन्वयमा जिल्लाका सबै पालिकाहरुको संयुक्त बैठक बोलाएर कृषि क्षेत्रमा के के काम गर्न सकिन्छ, त्यसबारे छलफल गर्न उपयुक्त हुने बताए ।
यसैबिच बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले आफ्नो पालिकामा प्रत्येक माध्यमिक विद्यालयमा केहि बजेटको व्यवस्था गरी कृषि र उद्यमशीलाता बारे अभिप्रेरित गर्न कक्षा सञ्चालन गर्ने, अवलोकन भ्रमण गराउने खालका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए ।
प्राय जसो युवाहरु विदेश र भारततीर जाने अवस्था रहेकाले युवा प्रोत्साहनका कार्यक्रम पनि ल्याउन आवश्यक रहेको उनले बताए ।
जिल्लामा हालसम्म आएको अनुदानबारे लेखाजोखा गर्ने र त्यसको सहि सदुपयोग भएको हुन्थ्यो भने जिल्ला कृषिमा आत्मनिर्भर भैसकेको हुनुपर्ने, तर अवस्था त्यस्तो नरहेको गड्सिलाले बताए ।
कार्यक्रममा बोल्दै सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले कृषि क्षेत्रमा कुन ठाउँमा के सम्भावना छ, सोही अनुसार योजना बनाएर लागु गरिनुपर्नेमा जोड दिए । त्यस्तै आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले कृषि बिना अरु प्रगति गर्न नसकिने भन्दै कृषिका कुरा गर्ने हरेक कर्मचारी र प्राविधिकहरुले कम्तीमा दुइ वटा टनेलमा तरकारी खेती गरेकै हुनुपर्ने वातावरण बनाइनुपर्ने बताए ।
त्यस्तै दिपायल सिलगढी नगरपालिकाका उप प्रमूख कलावती महर साउँदले किसानका प्राथमिकता र पालिकाहरुले प्राथमिकिकरण गरेका योजना प्रादेशिक कृषि विकास रणनीतिमा अगाडी बढाउनुपर्ने धारणा राखिन् ।
त्यस्तै बडिकेदार गाउँपालिका उपाध्यक्ष डम्मरी बिष्ट कलेलले बडिकेदार गाउँपालिका पनि कृषि तथा पशुपालनका लागि राम्रो सम्भावना बोकेको ठाउँ भएकाले गाउँमै गएर के के सम्भावना छन् सोहि अनुसार योजना बनाई कृषि विकासका कार्यक्रम लागु गर्नुपर्ने बताईन् ।
त्यसैगरी डोटी उद्योग वाणिज्य संघ डोटीका बरिष्ठ उपाध्यक्ष प्रेम बहादुर भण्डारीले कृषि उत्पादनको उचित बजारीकरणका लागि सबैले ध्यान दिनुपर्ने र एउटै पसलमा नुनदेखि सुनसम्म सबै चिज विक्रि वितरण हुने परिपाटीले पनि कृषि उत्पादनको बजारीकरणमा समस्या रहेको धारणा राखे ।
कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका ५ जिरो प्वाइन्टका व्यवसायिक किसान जय बहादुर शाहीले विभिन्न सरकारी तथा अन्य क्षेत्रबाट अनुदान दिएर कृषिमा काम गर्ने किसानलाई मात्रै नभएर आफ्नै लगानी र परिश्रम गर्ने किसानको खेतबारीमा पनि अनुगनम गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा आयोजक दुवै कार्यालयका तर्फबाट प्रस्तुतीकरण गर्दै कृषि ज्ञान केन्द्र डोटीका प्रमूख गंगादत्त अवस्थीले आगामी दिनमा ‘चरि खानेभन्दा, गरी खाने’ किसानलाई प्राथमिकतामा राखेर आफुहरुले कार्यक्रम अगाडी बढाउने प्रतिबद्धता गरे ।
जिल्ला समन्वय समिति डोटीको सभाहलमा आयोजित कार्यक्रममा डोटीका विभिन्न पालिकाका जनप्रतिनिधी, कृषि क्षेत्रमा क्रियाशील सरकारी तथा गैह्र सरकारी निकायका प्रतिनिधी, सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो ।