कविता शीर्षक : प्यारो खप्तड (शार्दूलविक्रीडित छन्द)

565

अग्लो शैल हिमालको क्षितिजमा, रत्नावली पोतियो ।
धर्ती व्योम खुली सुधा हृदयमा, आभा छरी रोपियो ।।
हाँस्छन् पत्थर वाटिका तरुहरू, हेर्दै कुना कन्दरा ।
प्यारो खप्तड भुल्न सक्दिन कबै, भू:स्वर्ग मेरो धरा ।।
।।१।।
फल्छन् लाख बुटी नसा रगतमा, हो इन्द्रको नन्दन ।
पर्छन् ती भ्रममा चरा मृगहरू, देख्दा सुनौलोपन ।।
बग्छन् शीतल गर्भबाट जलका, पीयूष धाराहरू ।
मेरो खप्तड आश श्वास बल हो, व्याख्यान के नै गरूँ ।।
।।२।।
डुल्छन् लाख भदन्तका मन यहीँ, मैलो पखालीकन ।
कोर्छन् गीत विहङ्गले विटपमा, गर्दै नयाँ सिर्जन ।।
मेरो देश सुदूरभूमि तटको, कैलाशको आँगनी ।
स्वामी खप्तड एक ध्यान तपमा, गर्थे कला थालनी ।।
।।३।।
खेल्छन् फाँटहरू चुमेर चुचुरा, उन्मत्त चाला गरी ।
फल्छन् अन्तर भावना मनुजका, हीरा र मोती सरि ।।
हेर्छन् दृश्य अथाह स्वर्गतिरका, ब्रह्मा तथा शंकर ।
हाँस्दैछन् शिव पार्वती गगनमा, छर्की नयाँ मन्तर ।।
।।४।।
उम्दा पाटन फाँट पुष्पक लता, तान्दै बसेका मन ।
हेर्दा लाग्छ अघाइदैँन कहिल्यै, पाई रसास्वादन ।।
पाऊँ जन्म यतै जुगानुजुगमा, आशा यसै भित्र छ ।
प्यारो खप्तड धाम बिर्सु कसरी, यो देहमा चित्र छ ।।
।।५।।

लेखक दिपायल सिलगढी नगरपालिका डोटीमा कार्यरत हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.