आज बडा दशैं, टीकाको उत्तम साइत ११:३६ बजे

260

असोज २६, डोटी
नेपालीहरुको पहिलो महान चाड बडा दशैं अर्थात विजया दशमी आज धुमधामसाथ मनाइदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दशैं मनाइने भए पनि आज टीकाको दिनलाई अझै विशेष दिनको रूपमा मनाइन्छ ।
दशैं टीकाको शुभ साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेकोे नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।नवरात्र भनेर समेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष आठ रात र नौ दिनको मात्र परेको छ । तिथिको घटबढका कारण यस्तो हुने गर्दछ ।
विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गादेवीलाई आज दशैं टीकाको दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा, दक्षिणा सहित प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ ।
आज देवी विसर्जनको साइत भने बिहान ८ः३३ बजे रहेको समितिले जनाएको छ ।
दशैंका दिन देखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म पनि आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । घटस्थापनाका दिन राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ ।
काठमाडौँको हनुमानढोका लगाएत देशभरका शक्तिपीठहरुमा दशैं धुमधामसाथ मनाइन्छ ।
रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घरबाहिर देश विदेशमा रहेका मानिसहरू दशैंको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर पर्व मनाउँछन् । यसैले बडादशैंलाई पारिवारिक पुनःमिलनको पर्वका रूपमा समेत लिइन्छ ।

Leave A Reply

Your email address will not be published.