डडेल्धुराका काङ्ग्रेस सभापति भीम साउँदको निर्माण कम्पनी `राजेन्द्र निर्माण सेवा´कालोसूचीमा
फाल्गुन २८, डोटी ।
नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा निर्माण व्यवसायी भीमबहादुर साउँदको कम्पनी राजेन्द्र निर्माण सेवा कालोसूचीमा परेको छ।
पुरातत्व विभागको सिफारिसमा प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले साउँदको कम्पनीसहित आठ निर्माण व्यवसायी फर्मलाई कालोसूचीमा राखेको हो।
राजेन्द्र निर्माण सेवाले ललितपुरको शंखमुलस्थित जगत नारायण मन्दिर पुनर्निर्माणको ठेक्का लिएको थियो। तर पटक-पटक म्याद थप्दा पनि काम सम्पन्न नगरेपछि पुरातत्व विभागको सिफारिसमा उक्त कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयकी कानुन अधिकृत संगीता महर्जनले जानकारी दिइन्।
अनुगमन कार्यालयले बुधबार प्रकाशित सूचनामा अन्य सात निर्माण कम्पनी पनि कालोसूचीमा परेको उल्लेख गरेको छ। सार्वजनिक निकायसँग सम्झौता गरे पनि सन्तोषजनक रूपमा काम नगरेका कारण यी कम्पनीहरूलाई कारबाही गरिएको हो। कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधि भरि सरकारी खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्। – महेन्द्रनगर पोस्टबाट