जोरायलमा २२ औं राष्ट्रिय धान दिवस भव्य रूपमा मनाइयो
असार १५, डोटी ।
डोटीको जोरायल गाउँपालिका ४ जिजिकोटमा २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८२ भव्य रूपमा मनाइएको छ ।
जोरायल गाउँपालिकाको आयोजनामा वडा नं. ४ का वडा अध्यक्ष नन्दराज भट्टको खेतमा धान दिवस मनाइएको हो ।
गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा, प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, विभिन्न वडाका जनप्रतिनिधिहरु, विभिन्न सरकारी कर्मचारी तथा गैरसरकारी संस्था लिबर्डका प्रतिनिधि, कलाकार, पत्रकार र स्थानीय किसानहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
“धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ धान दिवस मनाइएको हो ।
कार्यक्रममा दहि चिउरा लगाएत विभिन्न खाद्य परिकार खानुका साथै किसान सङ्गै धान रोप्ने, गोरु जोत्ने, हिलो छ्याप्ने गरेर रमाइलो समेत गरेका थिए।
धान दिवसका अवसरमा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले नजर अनलाइनसङ्ग कुराकानी गर्दै जोरायल गाउँपालिका बास्मती धान उत्पादनका लागि प्रसिद्ध क्षेत्र भएको उल्लेख गर्दै बास्मती धानको संरक्षण, प्रचार–प्रसार तथा वैज्ञानिक तरिकाबाट उत्पादन वृद्धि गर्न आवश्यक रहेको र आफुहरु त्यसका लागि काम गरिरहेको बताए ।
त्यस्तै उपाध्यक्ष जमुना बोहराले गाउँपालिकाको समृद्धिको मूल आधार कृषि भएको र वार्षिक कार्यक्रमका रूपमा किसानको हौसलाका लागि खेतमै गएर धान दिवस मनाइएको बताइन् ।
त्यसैगरी, वडा नं. ४ का वडा अध्यक्ष नन्दराज भट्टले कलाकार, जनप्रतिनिधि, कर्मचारी, पत्रकार र किसानहरुको भव्य सहभागितामा दिवस मनाइएको बताए ।
कार्यक्रममा चर्चित टिकटकर मिस पवी, गायिका तथा मोडल लक्ष्मी आचार्य, सौगात ओझा लगाएत सहभागी थिए ।
जोरायल क्षेत्र आफैंमा बास्मती धान सङ्गै कृषि उत्पादन र पशुपालनका लागि महत्त्वपूर्ण क्षेत्र मानिन्छ।
यसैबीच कृषि ज्ञान केन्द्र डोटीले दिपायल सिलगढी नगरपालिकाको वडा न ५ चिसापानीमा र अन्य विभिन्न सरकारी तथा गैरसरकारी निकायले विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गरेर राष्ट्रिय धान दिवस मनाएका छन् ।