बानेडुंग्रीसैन–सातनाली पुलको फेरि थपियो म्याद
साउन १३, डोटी ।
डोटीको शिखर नगरपालिका वडा नं. १० र ११ जोड्ने सेती नदीमाथिको बानेडुंग्रीसैन–सातनाली पुल निर्माणका लागि छैटौं पटक म्याद थप गरिएको छ । पाँच पटक म्याद थप्दा समेत निर्माण कम्पनी पप्पु–राजेन्द्र जेविले हालसम्म २४ प्रतिशत मात्रै काम सम्पन्न गरी छैटौं पटक म्याद थप लिएको हो ।
सडक डिभिजन कुलपाते डोटीका अनुसार निर्माण कम्पनीका तर्फबाट सार्वजनिक खरिद नियमावली (चौंधौं संशोधन) २०६४ बमोजिम २०८२ जेठ १२ मा म्याद थपका लागि निवेदन दिएको थियो । उक्त निवेदन उपर सडक विभाग, पुल महाशाखाका उपमहानिर्देशकको अध्यक्षतामा २०८२ असार १ गते बैठक बसी निर्माण व्यवसायीले माइलस्टोन राखेर विस्तृत कार्य योजना परिमार्जन सहित पेश गर्ने र सोको सुपरीवेक्षण सडक डिभिजन डोटी र संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले गर्ने सहमती भएको जनाईएको छ । तर सुपरीवेक्षणका क्रममा प्रगति नदेखिए सार्वजनिक खरीद ऐन, २०६३ र सार्वजनिक खरीद नियमावली, २०६४ मा भएको व्यवस्था बमोजिम जुनसुकै बखत ठेक्का अन्त्य गर्न निर्माण व्यवसायीले सहमती जनाउँदै निर्माण सम्बन्धी माइलस्टोन सहित विस्तृत कार्ययोजना पेश भएपछि २०८२ असार ८ गतेको विभागीय निर्णय बमोजिम म्याद थपिएको जनाईएको छ । अब उक्त पुल निर्माण गर्न २०८४ असार २० सम्मको म्याद राखिएको छ ।
रु.२६ करोड २० लाख बराबरको लागतमा वि.सं. २०७४ असार २८ मा काम सम्पन्न गर्ने गरी २०७१ असार २९ गते सम्झौता भएको थियो ।
उक्त निर्माण कम्पनीका सञ्चालक भीम बहादुर साउँद नेपाली काँग्रेस डडेल्धुराका सभापती एवं परशुराम नगरपालिकाका पूर्व नगर प्रमूख पनि हुन् ।
उनले शक्तिको आडमा पटक पटक म्याद थप्ने तर पुल निर्माणको काम अलपत्र छोड्ने गरेको आरोप पनि छ ।
पुल निर्माणको कार्य छिटो सम्पन्न गर्नुपर्ने माग राख्दै २०७९ साल माघ १६ गते उच्च अदालत दिपायलमा शिखर नगरपालिका ११ का बासिन्दा तथा पत्रकार रामहरी ओझाले रिट निवेदन गरेका थिए । उक्त रिट निवेदनमाथि फैसला गर्दै उच्च अदालतले २०८० साल जेठ १० गते पुल निर्माणको कार्य यथाशाक्य चाँडो गराउन डिभिजन सडकको नाममा र पुल निर्माणका लागि आवश्यक वातावरण बनाउनु भनी शिखर नगरपालिकालाई परमादेश जारी गरेको थियो ।
तर अदालतले गरेको फैसलालाई समेत व्यवास्ता गर्दै काम नगरी म्याद थप भएपछि पुल निर्माण हुनेमा फेरि पनि शंका रहेको पत्रकार रामहरी ओझाको बुझाई छ ।
राजनीतिक दलहरुको संरक्षण र सडक डिभिजन कुलपाते डोटीको लापरवाहीका कारण उक्त पुल निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेको ओझा बताउँछन् । यथाशक्य पुल निर्माण हुनुपर्नेमा सम्बद्ध निकायसँग निरन्तर दवाव दिंदै आएका पत्रकार ओझाको अगुवाईमा केहि समय पहिले प्रधानमन्त्रीलाई प्रति परिवारबाट रु.१ का दरले रु.८४४ र निर्माण अधुरो रहेको हेर्न व्यङ्ग्य गर्दै कालो चश्मा समेत पठाएका थिए ।