जोरायलका अध्यक्ष ओझा आफैंले पुर्याए दुर्व्यसनीमा फसेका एक युवालाई पुनर्स्थापना केन्द्र

1,366

भाद्र ७, डोटी ।
लागुपदार्थको दुर्व्यसनीमा फसेका एक युवालाई डोटीको जोरायलका गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले आफैले उद्धार गरी पुनःर्स्थापना केन्द्रमा भर्ना गरेका छन् ।
जोरायल गाउँपालिका वडा नं. ३ लस्करका जुठे भनेर चिनिने युवा डम्मर खड्कालाई हिजो शुक्रबार उद्धार गरेका हुन् ।उनलाई धनगढी उपमहानगरपालिका ३ बोराडाँडी कैलालीमा रहेको रिचमण्ड फेलोसिप नामक संस्थामा भर्ना गरिएको जोरायल गाउँपालिकाका अध्यक्ष ओझाले जानकारी दिनुभयो ।
वि.सं.२०४६ मा जन्मिएका डम्मर करिब डेढ दशकदेखि गाँजाको लतमा रहेको र मानसिक रुपमा पनि समस्यामा रहेको उनका काकाको छोरा भाइ नाता पर्ने दिपक खड्काले जानकारी दिएका छन् । शुरुमा स्थानीय एक मेलामा गएको बेला युवाहरुबिच सामान्य झैंझगडा भएदेखि मानसिक रुपमा असर परेको र त्यसैमा गाँजाको लत बसेपछि उनी झन समस्यामा परेको दिपक खड्काले बताउनुभयो ।
एसएलसी उत्तीर्ण गरेका ती युवा केही वर्ष अगाडिसम्म बेला बेलामा भारततिर काम गर्न पनि जाने गरेको स्थानीय बताउँछन् ।
खड्कालाई नियमानुसार स्वास्थ्य अवस्था चेकजाँच गराउँदा उनलाई लतबाट छुट्कारा दिलाउन केही लामो समय लाग्ने रिचमण्ड फेलोसिपका कार्यक्रम संयोजक राम बहादुर रजकले नजर अनलाईनलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–‘ति युवाको अवस्था हेर्दा नियमित औषधी सेवन गराउदै गएपछि र लागु पदार्थ सेवन छुटेपछि मानसिक स्वास्थ्य सुधार हुने देखिन्छ । तर केहि समय भने लाग्ने डाक्टरको भनाई छ ।’
गाँजा सेवनका कारण देखिने यस खालको स्वास्थ्य अवस्थालाई Cannabis induced phychosis भनिने कार्यक्रम रजकले बताउनुभयो ।

 

Leave A Reply

Your email address will not be published.