थप ९०२ सङ्क्रमित, दुई हजार २८७ जना निको भए
भाद्र २३, काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ९ सय २ सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४८ हजार १ सय ३८ पुगेको छ । सक्रिय सङ्क्रमित १४ हजार ८ सय ६८ रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निको हुने दर ६८.५ प्रतिशत पुगेको र हालसम्म ३२ हजार ९ सय ६४ जना कोभिड–१९ सङक्रमित भएका मानिसहरु निको भएर घर फर्केको बताए । पछिल्लो २४ घण्टामा मात्रै दुइ हजार २ सय ८७ जना निको भएका छन् ।
आइसोलेसनमा १४ हजार ८ सय ६८ रहेका छन् । क्वारेन्टिनमा पाँच हजार ३ सय १० जना सङ्क्रमित रहेका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा ३ सय ६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।