जोरायल गाउँपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड मंसिर १७ देखि
मंसिर १३, डोटी ।
डोटीको जोरायल गाउँपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही मंसिर १७ गतेदेखि सञ्चालन हुने भएको छ ।
वडा न.–४ स्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने प्रतियोगिता मंसिर २० गतेसम्म सञ्चालन हुने जोरायल गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराँते र तेक्वान्दो छात्र छात्रा दुवैतर्फका खेलहरु हुने जोरायल गाउँपालिकाका खेलकुद प्रशिक्षक पवन कुमार शाहुले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयले मंसिर १५ गतेभित्र आयोजकलाई खेलाडीको नाम उपलब्ध गराईसक्नुपर्ने जनाइएको छ ।
उक्त रनिङ शिल्ड प्रतियोगिताको गत वर्षको छैटौं उपाधी रामपुर माध्यमिक विद्यालय बुडरले हात पारेको थियो ।
जोरायल क्षेत्र खेलकुदमा अगाडि रहेको हुँदा गत वर्ष सम्पन्न डोटी जिल्ला स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधी पनि जोरायल गाउँपालिकाले हात पारेको थियो ।