डोटी आइडलमा ‘फिमेल टपर’, ‘फ्रिमा गीत रेकर्डिङ्ग’ सुदूर धमाका म्यूजिकको ‘ग्रान्ड अफर’
पुस ३०, डोटी ।
डोटी उद्योग वाणिज्य संघले आगामी फाल्गुनमा आयोजना गर्ने डोटी महोत्सव २०८२ का अवसरमा जिल्लामै पहिलो पटक सञ्चालन गर्न लागेको डोटी आइडलका लागि एकपछि अर्को अफर आउन थालेका छन् ।
मंगलबार मात्रै विशेष डिजिटल रेकर्डिङ्ग स्टुडियो सञ्चालक तथा चर्चित डेउडा गायिका शोभा थापाले आइडलका विजेतालाई निशुल्क गीत रेकर्डिङ्ग गराउने घोषणा गरेकी थिइन् । लगत्तै सुदूर धमाका म्युजिक, अत्तरीया कैलालीले उत्कृष्ट फिमेललाई निशुल्क गीत रेकर्डिङ्ग गराउने अफर सार्वजनिक गरेको छ ।
दशकौं लामो समयदेखि गीतसँगीतका क्षेत्रमा लागेका सुदूर धमाका म्यूजिकका प्रबन्धक दिनेश (डिल बहादुर) साउँदले नवप्रतिभालाई प्रोत्साहन गर्नु आफ्नो पनि दायित्व भएकोले डोटी आइडलमा सहभागि हुने महिलामध्ये उत्कृष्टलाई निशुल्क गीत रेकर्डिङ्गको अवसर प्रदान गर्ने नजर अनलाईनलाई बताए ।
सुदूर धमाका म्यूजिक टिमका प्रतिनिधी एवं डेउडा गायक लालु रैकालले आफ्नो टिमका गायकहरुसँग गीत गाउने अवसर दिएर फिमेल टपर नवप्रतिभालाई सहयोग गर्ने बताए ।
सुदूर धमाका म्यूजिक टिममा डोटीको आदर्श गाउँपालीका २ कोटान्जरका दिनेश साउँद, शिखर नगरपालिका ३ सालगाउँका लालु रैकाल, पूर्वीचौकी गाउँपालिका ७ पोखरीका गणेशमान परियार तथा शिखर नगरपालिका ४ बुङङाका करन बि.क. र बहादुर बि.क. रहेका छन् । उनिहरु सबै जना कामको शिलशिलामा भारतलाई कर्मथलो बनाएर भए पनि सुदूरपश्चिमेली डेउडा गीत सँगीतलाई निरन्तरता दिंदै आएका छन् ।
डोटी उद्योग वाणिज्य संघले आगामी फाल्गुन १ गतेदेखि १० गतेसम्म दिपायलमा डोटी महोत्सव २०८२ को आयोजना गर्दैछ । सोही अवसरमा वाणिज्य संघले ‘डोटी आइडल’ पनि आयोजना गर्न लागेको हो । आइडलमा १२ वर्षदेखि ४० वर्ष उमेर समूहका स्वर भएर पनि गीत रेकर्डिङ्गको अवसर नपाईएका डोटीका ९ वटै पालिकाका इच्छुक प्रतिभाहरुलाई अवसर प्रदान गरिने जनाईएको छ ।
आयोजक संस्था डोटी उद्योग वाणिज्य संघले पनि डोटी आइडल गायन प्रतियोगितामा ‘टप थ्री’मा पर्न सफल गायक गायिकाहरूको गीत रेकर्ड गर्ने देखि प्रमाणपत्र तथा नगद पुरस्कारको व्यवस्था गर्ने तयारी गरेको छ । आइडल प्रतियोगिता सञ्चालन नहुँदै निशुल्क गीत रेकर्डिङ्ग गराउने अफरले डोटी उद्योग वाणिज्य संघलाई समेत सहयोग पुग्ने देखिएको छ ।
डोटी आइडल र डोटी महोत्सवबारे विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत जानकारी दिइने बताईएको छ ।