प्रतिनिधि सभा निर्वाचन : डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
माघ २, डोटी ।
आगामी फाल्गुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
जिल्ला अदालत डोटीका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयको अध्यक्षतामा डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, सुरक्षा निकायका प्रमुखहरू र प्रत्रकार लगायत सरोकारवाला निकायहरुको उपस्थितमा जिल्ला अदालत डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
कार्यालय स्थापना सङ्गै सबै सरोकारवालासङ्गको समन्वयमा निर्वाचन सम्बन्धि काम तथा प्रक्रिया अगाडि बढाइएको मुख्य निर्वाचन अधिकृत पाण्डेयले बताए ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।
पहिलो निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिनेछ।
मनोनयन दर्ता भएपछि ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ।
माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम छ। त्यसपछि दिउँसो ३ बजेदेखि भोलिपल्ट बेलुकी ५ बजेसम्ममा मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी बेलुकी ७ बजेसम्ममा नामावली प्रकाशन गर्ने कार्यतालिका छ।
माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्ति नामावली प्रकाशन गरिनेछ।
दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह समेत प्रदान गर्ने कार्यक्रम छ।
फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान केन्द्रमा मतदान हुने समय तोकिएको छ ।